काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमका छोरा मो. फिरदोस आलम पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेशी क्लस्टरबाट फिरदोस सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।
फिरदोस हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन्। उनी रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट २९ हजार ५२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका थिए।
फिरदोसका पिता मोहम्मद आफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित पूर्वसांसद थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट तथा त्यसपछि भएको भनिएको हत्याकाण्डसम्बन्धी घटनाका कारण चर्चामा आएका थिए।
उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा आफताब आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पर्याप्त प्रमाण नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो।
सफाइपछि जेलमुक्त भएका आलमको २०८२ कात्तिक २१ गते काठमाडौंमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको थियो।
कांग्रेसको सहमहामन्त्रीमा फिरदोसको निर्वाचनसँगै उनीमाथि पार्टी संगठनमा मधेशी समुदायको प्रतिनिधित्व तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी थपिएको छ।


तपाईको प्रतिक्रिया !