नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

NEWS DESK
२०८३ आश्विन ३०, शुक्रबार ०५:४७ बजे

काठमाडौँ । बडादसैँअन्तर्गत दुर्गा पक्षको छैटौँ दिन आज देशभरका दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्ये छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विशेष पूजा गर्ने चलन छ। पौराणिक मान्यताअनुसार भगवती देवी देवताहरूको कार्यसम्पादनका लागि कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा अवतार लिनुभएको थियो। ऋषिले उहाँलाई पुत्रीका रूपमा स्वीकार गरेपछि देवीको नाम कात्यायनी रहन गएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।

नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौँको जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो। छैटौँ दिन आज कात्यायनी देवीको पूजा गरिँदैछ।

दुर्गा पक्षका नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना र पूजाबाट शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष पूजा गर्छन्।

नवदुर्गामा सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ। नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन छ। कतिपय समुदायमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका लगाउने गरिन्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय व्यवस्थाअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिन्छ। यसरी नेपालीहरूले १५ दिनसम्म बडादसैँ पर्व हर्षोल्लासका साथ मनाउने गर्छन्।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाईलगायत मन्दिरमा भक्तजनको चहलपहल बढेको छ।

त्यसैगरी, उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनले पूजाआजा तथा दर्शन गरिरहेका छन्।

नवरात्रलाई शक्ति उपासनाको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। यस अवधिमा देवीको आराधना, धार्मिक अनुष्ठान र शक्तिपीठको दर्शन गर्दै नेपालीहरूले बडादसैँ मनाउने परम्परा कायम राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्