वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–४, तुल्सीबर्वास्थित छिपहरमाई मन्दिर परिसरमा विजयादशमीका दिन राजनीतिक दलका पोस्टर, ब्यानर र झण्डा राख्न तथा दलगत भोजभतेर र प्रचारप्रसार गर्न रोक लगाउने निर्णयप्रति गाउँपालिका अध्यक्ष मनोज गुप्ताले पुनर्विचार गर्न आग्रह गरेका छन्।
वडा नं. ४ का वडा अध्यक्ष रामेश्वर महतो केवटले असोज २८ गते सूचना जारी गर्दै कात्तिक ३ गते विजयादशमीका दिन मन्दिर परिसरमा कुनै पनि राजनीतिक दलका पोस्टर, ब्यानर र झण्डा राख्न तथा दलगत भोजभतेर र प्रचारप्रसार गर्न निषेध गरेका थिए।
करिब ५०० वर्षदेखि धार्मिक परम्पराअनुसार विजयादशमीका दिन छिपहरमाई मन्दिरमा भव्य मेला लाग्ने र भक्तजनले माताको दर्शन गर्ने चलन रहेको उल्लेख गर्दै वडा कार्यालयले धार्मिक तथा सांस्कृतिक परम्पराको मर्यादा कायम राख्न यस्तो सूचना जारी गरेको जनाएको छ।
तर, गाउँपालिका अध्यक्ष गुप्ताले शनिबार आफ्नो फेसबुकमार्फत उक्त सूचनामाथि पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन्। उनले लोकतन्त्रमा प्रत्येक राजनीतिक दललाई आफ्नो विचार, भावना र शुभकामना व्यक्त गर्ने अधिकार रहेको उल्लेख गर्दै मेला व्यवस्थित बनाउने नाममा राजनीतिक अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा रोक्नु उचित नहुने धारणा राखेका छन्।
गुप्ताले मेला शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउनु आवश्यक भए पनि सबै राजनीतिक दलको अधिकार र स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताएका छन्।
उनले लोकतन्त्रको सम्मान गर्दै सबै दलको अधिकार र स्वतन्त्रताको कदर गर्न आग्रह गर्नुका साथै फूलपातीको अवसरमा सम्पूर्ण जनसमुदायमा शुभकामनासमेत व्यक्त गरेका छन्।
वडा कार्यालयको निषेधसम्बन्धी सूचना र गाउँपालिका अध्यक्षको पुनर्विचार गर्नुपर्ने धारणासँगै छिपहरमाई मन्दिर परिसरमा धार्मिक परम्पराको संरक्षण र राजनीतिक अभिव्यक्ति स्वतन्त्रताबीच सन्तुलन कायम गर्ने विषय चर्चामा आएको छ।


तपाईको प्रतिक्रिया !