दुःखमा परेका परिवारसँग दसैँको खुसी बाँड्न गगन थापाको आग्रह

NEWS DESK
२०८३ कार्तिक ५, बुधबार ०९:१७ बजे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील अवस्थामा यस वर्षको विजयादशमी मनाउनुपरेको उल्लेख गर्दै दुःखमा परेका परिवारसँग चाडपर्वको खुसी बाँड्न आग्रह गर्नुभएको छ।

विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले दसैँको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराखी दुःखमा परेका परिवारलाई सहयोग गर्न आग्रह गर्नुभएको हो।

“धेरै परिवार दुःख, पीडा र कठिनाइमा छन्। यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्,” उहाँले भन्नुभएको छ।

थापाले विपत्तिमा परेका परिवारको पीडामा सकेको मलम लगाउन, आफ्नो खुसी अरूसँग बाँड्न र एकअर्काको सहारा बन्न सबैलाई आह्वान गर्नुभएको छ।

उहाँले विजयादशमीले व्यक्तिमा आफ्ना कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना थप बलियो बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

सभापति थापाले यस वर्षको दसैँलाई आपसी सहयोग, मानवीय संवेदना र सामाजिक एकता अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने सन्देश दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्