वीरगञ्ज । पर्सा जिल्लामा असोज महिनामा विभिन्न प्रकृतिका १११ वटा आपराधिक घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार अपराध अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादी पक्राउ परेका छन्।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार असोज महिनामा सामाजिक अपराधका ६१, संगठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएका छन्।
प्रहरीको विवरणमा कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना पनि उल्लेख छ।
लागुऔषधसहित २४ जना पक्राउ
पर्सामा लागुऔषध नियन्त्रण प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ। असोज महिनामा लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरेको जनाएको छ।
४० सवारी दुर्घटना, दुई जनाको मृत्यु
असोज महिनामा पर्सा जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
भन्सार छलीका ७५ लाखभन्दा बढीका सामान बरामद
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ।
त्यसैगरी, अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त प्रकरणमा तीन लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको विवरणमा उल्लेख छ।
विपद्का घटनामा एक जनाको मृत्यु, एक बेपत्ता
प्रहरीको मासिक विवरणअनुसार असोज महिनामा पर्सामा १८ वटा विपद्सम्बन्धी घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते र एक जना बेपत्ता भएका छन्। विपद्का घटनामा १७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
२२५ जनचेतनामूलक कार्यक्रम सञ्चालन
अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि जिल्ला प्रहरी कार्यालयले असोज महिनामा समुदाय केन्द्रित २२५ वटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रममा चार हजार ७३८ जना लाभान्वित भएका छन्।
एसपी भट्टराईले चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्न र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लाभर प्रहरी परिचालन बढाइएको बताए। चाडबाडलाई लक्षित गरी विशेष प्रहरी टोलीसमेत परिचालन गरिएको उनले जानकारी दिए।
प्रहरीको मासिक विवरणले पर्सामा अपराध अनुसन्धानसँगै लागुऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, सडक सुरक्षा र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको देखाएको छ।


तपाईको प्रतिक्रिया !