बेइजिङ, ६ कात्तिक । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ । बिहीबार राति १०ः३३ बजे गएको भूकम्पपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गर्नुका साथै राहत वितरणलाई तीव्रता दिएका छन् ।
चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले सार्वजनिक गरेका दृश्यमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू रेस्टुरेन्टबाट बाहिर निस्किएको तथा सुपरमार्केटका सामान दराजबाट खसेको देखिएको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनमा खोजी गर्नुका साथै घाइतेहरूलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन् ।
विद्युत् र दूरसञ्चार सेवा अवरुद्ध
अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्र नागकुबाट करिब १९० किलोमिटर पूर्व–उत्तरपूर्व र क्षेत्रीय राजधानी ल्हासाबाट ३९० किलोमिटर उत्तरपूर्वमा थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्र बाकेन काउन्टीको मारु बस्तीमा परेको थियो । बस्तीका उपप्रमुख लावाङ डाग्पोले भूकम्पको धक्का कार्यालयमा स्पष्ट रूपमा महसुस भएको र भवनका पर्खालमा चिरा परेको बताएका छन् ।
भूकम्पपछि काउन्टीको सदरमुकाममा विद्युत् तथा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । यसले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न थप चुनौती सिर्जना गरेको छ ।
उद्धारमा ६०० भन्दा बढी सुरक्षाकर्मी परिचालन
भूकम्पबाट प्रभावित क्षेत्रमा चीनले तेस्रो तहको भूकम्पीय विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय पारेको छ ।
सिन्ह्वाका अनुसार उद्धारका लागि ३०० भन्दा बढी प्रहरी अधिकारी र क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ जना कर्मचारी परिचालन गरिएको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनभित्र फसेका मानिसको खोजी गरिरहेका छन् । थप उद्धारका लागि सैनिक परिचालन गर्ने तयारीसमेत गरिएको छ ।
तिब्बतमा बारम्बार भूकम्प, विगतमा पनि ठूलो जनधनको क्षति
चीनमा भूकम्प जाने घटना तुलनात्मक रूपमा सामान्य मानिन्छ । यसअघि सन् २०२५ को जनवरीमा तिब्बतको टिङ्गरी काउन्टीमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा कम्तीमा १२७ जनाको ज्यान गएको थियो ।
सन् २०१४ मा दक्षिणपश्चिमी युन्नान प्रान्तमा गएको भूकम्पमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । सन् २००८ मा सिचुआन प्रान्तमा गएको विनाशकारी भूकम्पमा करिब ९० हजार मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए । मृतक तथा बेपत्ता हुनेमा करिब पाँच हजार विद्यार्थीसमेत थिए ।
तिब्बतमा पछिल्लो भूकम्पपछि पनि उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र घाइतेको सङ्ख्या थप बढ्न सक्ने सम्भावना रहेको छ ।


तपाईको प्रतिक्रिया !