म्यानमारमा बस र भ्यान ठोक्किँदा ६ जनाको मृत्यु, १२ जना घाइते

NEWS DESK
२०८३ कार्तिक ८, आइतवार ११:०५ बजे

म्यानमार । म्यानमारको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

म्यानमारको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो।

विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ओ ल्विनबाट मन्डालेतर्फ गइरहेको बसको ब्रेक फेल भएपछि विपरीत दिशाबाट आएको भ्यानसँग ठोक्किएको थियो।

ठक्करपछि बस सडक छेउको खोल्सामा खसेर पल्टिएको थियो। दुर्घटनालगत्तै स्थानीय अग्नि नियन्त्रक तथा उद्धारकर्मीलाई घटनास्थलमा परिचालन गरिएको विभागले जनाएको छ।

दुर्घटनामा भ्यानका चालकको मृत्यु भएको छ। बसमा सवार २९ जनामध्ये पाँच जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

दुर्घटनापछि उद्धार टोलीले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी राखेको अग्नि सेवा विभागले जनाएको छ। दुर्घटनामा परेका वा बेपत्ता भएका व्यक्तिको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्