वीरगञ्ज–१५ का वडाध्यक्ष रमेश यादव निजी जग्गाका संरचना भत्काएको आरोप, जग्गाधनी घाइते

NEWS DESK
२०८३ कार्तिक ८, आइतवार १९:२५ बजे

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा निर्माण गरिएका भौतिक संरचना भत्काउनुका साथै जग्गाधनी प्रियंका सर्राफलाई घाइते बनाएको आरोप लागेको छ।

वीरगञ्ज–१५ स्थित ब्रह्मचोकमा आइतबार वडाध्यक्ष यादव, नगर प्रहरी तथा अन्य व्यक्तिहरूको टोली पुगेर कम्पाउण्डवाल र टहरालगायतका संरचना भत्काएको सर्राफले आरोप लगाएकी छन्। सो क्रममा आफूलाई दुर्व्यवहार गरिएको र हातमा चोट लागेको उनको भनाइ छ।

सर्राफका अनुसार ब्रह्मचोकमा रहेको १२.५ धुर निजी जग्गालाई लिएर उनी र वीरगञ्ज–१२ मुर्ली निवासी पारस साह कानुबीच पर्सा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। अदालतबाट विवादको अन्तिम फैसला नआइसकेको अवस्थामा कुनै पूर्वसूचना वा आधिकारिक आदेशबिना संरचना भत्काइएको उनले बताइन्।

आफूले जग्गाको नक्साअनुसार भौतिक संरचना निर्माण गरेको दाबी गर्दै सर्राफले संरचना हटाउनुअघि न त कुनै लिखित आदेश प्राप्त भएको न त वीरगञ्ज महानगरपालिकाबाट पूर्वसूचना नै दिइएको आरोप लगाइन्।

वडाध्यक्ष यादवले आफूले बोलेको कुरा नै आदेश भएको बताएको सर्राफको भनाइ छ। उनले बिदाको दिन नगर प्रहरी परिचालन गरी विपक्षीसँग मिलेमतोमा संरचना भत्काइएको आरोपसमेत लगाएकी छन्।

सर्राफले वडाध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरेकी छन्।

अदालतमा जग्गासम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामा संरचना भत्काउने कार्यको कानुनी आधार, महानगरपालिकाको भूमिका तथा घटनामा संलग्न भनिएका व्यक्तिहरूको जिम्मेवारीबारे सम्बन्धित निकायको धारणा आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्