सहिद मुकेश चौरसियाको छैटौँ स्मृति सभा सम्पन्न, जनतासँगै बसेर काम गर्न मातृका यादवको आग्रह

NEWS DESK
२०८३ कार्तिक ८, आइतवार १९:३२ बजे

वीरगञ्ज । सहिद कमरेड मुकेश कुमार चौरसियाको छैटौँ स्मृति सभा शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। सहिद मुकेश कुमार चौरसिया स्मृति प्रतिष्ठानकी अध्यक्ष सुनिता चौरसियाको अध्यक्षतामा आयोजित सभामा वक्ताहरूले चौरसियाको योगदान र उनले गरेका कामको स्मरण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वमन्त्री तथा सङ्घीय सांसद मातृका प्रसाद यादव सहभागी थिए। त्यस्तै, भाषा आयोगका पूर्वअध्यक्ष डा. गोपाल ठाकुर र नेपाली कम्युनिस्ट पार्टी पर्साका इन्चार्ज पीएल श्रेष्ठलगायतको उपस्थिति थियो।

सभालाई सम्बोधन गर्दै नेता यादवले पार्टीका नेता तथा कार्यकर्ताले जनताको बीचमा पुगेर मात्रै नहुने भन्दै जनतासँगै बसेर उनीहरूका समस्या समाधानका लागि काम गर्नुपर्ने बताए।

उनले विभिन्न कालखण्डमा भएका आन्दोलनकै कारण राजनीतिक तथा सामाजिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै परिवर्तनलाई संस्थागत गर्न अहिले पनि सङ्घर्षको आवश्यकता रहेको धारणा राखे।

वक्ताहरूले सहिद मुकेश कुमार चौरसियाले पुर्‍याएको योगदानको चर्चा गर्दै उनको विचार, सङ्घर्ष र जनताप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिष्ठानको आयोजनामा सम्पन्न स्मृति सभामा सहभागीहरूले सहिद चौरसियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको बाटोमा अघि बढ्नुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्