एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड पुरस्कार

NEWS DESK
२०८३ कार्तिक ८, आइतवार १९:५० बजे

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण औपचारिक तथा प्राविधिक तयारी पूरा भएको जनाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भोलिदेखि सुरु हुने प्रतियोगितालाई भव्य रूपमा सञ्चालन गर्ने तयारी गरिएको क्यानले जनाएको हो।

क्यानका अनुसार यस वर्षको एनपीएलमा करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। प्रतियोगिताका विभिन्न शीर्षकबाट करिब २० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

तेस्रो संस्करणमा विजेता टोलीले नगद डेढ करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरी उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

क्यानले पुरस्कार राशि वृद्धि गर्नुका साथै प्रतियोगितालाई आर्थिक तथा व्यवस्थापकीय दृष्टिले थप व्यवस्थित बनाउने योजना अघि सारेको छ। विदेशी स्टार खेलाडीहरूको सहभागिता र उच्च सुरक्षा व्यवस्थासहित सञ्चालन हुन लागेको प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

एनपीएललाई नेपाली क्रिकेटको प्रमुख प्रतियोगिताका रूपमा स्थापित गर्दै खेलकुद पर्यटन, प्रायोजन, रोजगारी तथा समग्र खेल अर्थतन्त्रलाई समेत चलायमान बनाउने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्