जनकपुरधाम । सर्लाहीको मलंगवास्थित हनुमान मन्दिरमा चोरी भएका चाँदीका मुकुट, माला, टीकालगायत सामग्री प्रहरीले बरामद गरेको छ। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–८ स्थित हनुमान मन्दिरमा आज बिहान करिब ३ बजे चोरी भएको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले मन्दिर परिसरबाटै दुवै नाबालकलाई नियन्त्रणमा लिएको हो। दुवै जना १८ वर्षभन्दा कम उमेरका भएकाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।
मन्दिरका पुजारीले हनुमानजीको मूर्तिमा लगाइएको चाँदीको मुकुट, माला, टीका, मुख तथा अनुहारमा लगाइने चाँदीका गरगहना र दानपेटिकामा रहेको रकम चोरी भएको जानकारी प्रहरीलाई गराएका थिए।
प्रहरीले खोजतलास गर्ने क्रममा मन्दिरको दक्षिणतर्फ रहेको खाली जग्गामा लुकाएर राखिएको अवस्थामा चोरी भएका सामग्री फेला पारेको जनाएको छ।
बरामद सामग्रीमा चाँदीको एक थान मुकुट, एक थान माला, एक थान टीका, एक थान चाँदीको मुख र दुई थान चाँदीका आँखा रहेका छन्।
त्यस्तै, दानपेटिकाबाट चोरी भएको नेपाली रकममध्ये पाँच रुपैयाँका ४५ थान, १० रुपैयाँका ४२ थान, २० रुपैयाँका १२ थान र ५० रुपैयाँको एक थान नोट गरी कुल ९३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। यसबाहेक नेपाली सिक्का ५२ थान र भारतीय सिक्कासमेत फेला परेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


तपाईको प्रतिक्रिया !