वीरगञ्ज । प्रहरीले वीरगञ्जमा अवैध रूपमा सञ्चालन हुँदै आएको घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा छापा मारेर ठूलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ भिष्वाडाँडामा सञ्चालित अवैध मदिरा उत्पादन गर्ने भट्टीमा छापा मारेको हो।
गोप्य सूचनाका आधारमा गरिएको स्थलगत जाँचका क्रममा प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने करिब १ हजार ३०० लिटर कच्चा पदार्थ (किण्वित जाँड) र ३५० लिटर तयारी घरेलु मदिरा फेला पारेको थियो।
प्रहरीले बरामद गरेको उक्त कच्चा पदार्थ तथा तयारी मदिरा घटनास्थलमै नष्ट गरेको जनाएको छ। साथै, अवैध मदिरा उत्पादनमा प्रयोग भइरहेका भट्टी तथा उपकरणहरूसमेत नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस्ता घरेलु मदिराको उत्पादन, बिक्रीवितरण तथा ओसारपसार कानुनविपरीत हुनुका साथै मानव स्वास्थ्यका लागि समेत हानिकारक हुन सक्छ।
अवैध मदिरा उत्पादन तथा कारोबारमा संलग्न नहुन प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ। साथै, आफ्नो टोलछिमेकमा अवैध मदिरा उत्पादन वा कारोबार भइरहेको जानकारी पाएमा तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा खबर गर्न अनुरोध गरेको छ।
अवैध मदिराको उत्पादन तथा कारोबार नियन्त्रण गर्न निगरानी र कारबाहीलाई थप कडा बनाइने प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया !