जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन्।
चारै मन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा राजनीतिक निकासका लागि आफूहरूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, उनीहरूले मुख्यमन्त्रीले हालसम्म गरेको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
यसैबीच, मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र नेकपाबीच मिलेर सरकार गठन गर्ने सहमति भएको जनाइएको छ।
चार मन्त्रीको सामूहिक राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने र प्रदेशको राजनीतिक समीकरणमा फेरबदल आउने देखिएको छ।


तपाईको प्रतिक्रिया !