काठमाडौँ । तिहार नजिकिएसँगै मिठाईको माग र खपत बढ्ने अनुमान गर्दै सरकारले मिठाई पसलहरूको अनुगमन तथा गुणस्तर नियन्त्रणमा कडाइ गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नयाँ मापदण्ड अनिवार्य कार्यान्वयनमा ल्याएको हो।
विभागले मिठाई पसलमा बिक्रीका लागि राखिएका प्रत्येक मिठाईको नाम, प्रयोग गरिएका कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उत्पादन तथा उपभोग्य अवधि र प्रतिकेजी मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ। सोकेसमा आवश्यक विवरण नराखी मिठाई बिक्री गर्ने तथा अखाद्य रङ र गुणस्तरहीन तेल प्रयोग गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने विभागले जनाएको छ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार खुला मिठाईमा उत्पादन मिति र उपभोग्य अवधि उल्लेख गर्न दिइएको समयसीमा समाप्त भइसकेको छ। त्यसैले अब मापदण्ड पालना नगर्ने पसलमाथि अनुगमन र कारबाहीलाई तीव्रता दिइनेछ।
मापदण्ड कार्यान्वयन नगर्ने पसलहरूको विवरण सङ्कलन गरी खाद्य ऐन तथा उपभोक्ता संरक्षण ऐनअनुसार मुद्दा दायर गर्ने र जरिबाना गर्ने प्रक्रिया अघि बढाइएको महानिर्देशक कर्णले जानकारी दिनुभयो।
विभागका अनुसार हालसम्म देशभरका ४२८ वटा मिठाई पसलमा विशेष अनुगमन गरिएको छ। अनुगमनका क्रममा २२२ वटा पसलले पूर्ण रूपमा आवश्यक सूचना तथा लेबल राख्न थालेका छन् भने ४३३ वटा पसललाई सचेत गराउँदै निर्देशनपत्र दिइएको छ।
यसअघि काठमाडौँ उपत्यकाका ५३ वटा चर्चित मिठाई पसलमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य वस्तु, लामो समयसम्म प्रयोग गरिएको जलेको तेल, अत्यधिक औद्योगिक रङ तथा भान्सामा मरेका झिँगा र साङ्लासमेत भेटिएका थिए। यस्ता अस्वस्थकर गतिविधि दोहोरिन नदिन यस वर्ष अनुगमनलाई थप कडा बनाइएको विभागले जनाएको छ।
सार्वजनिक बिदामा पनि अनुगमन हुने
तिहारका बेला मिठाई तथा खाद्यान्नजन्य परिकारको कारोबार बढ्ने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक बिदाका दिनसमेत अनुगमन गर्ने भएको छ।
यसका लागि केन्द्रमा विभागका दुई वटा टोली परिचालन गरिनेछ भने उपत्यकाबाहिर रहेका ३० वटा खाद्य कार्यालयअन्तर्गत एक–एक टोलीले अनुगमन गर्ने तयारी गरिएको छ।
महानिर्देशक कर्णले चाडपर्वका बेला बढ्दो मागको फाइदा उठाउँदै उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन नदिन बिदाका दिनमा समेत नियमित अनुगमन गरिने बताउनुभयो।
विभागले उपभोक्तालाई मिठाई खरिद गर्दा उत्पादन मिति, उपभोग्य अवधि, मूल्य तथा गुणस्तरमा ध्यान दिन आग्रह गरेको छ।


तपाईको प्रतिक्रिया !