जनकपुरधाम । नेपालका जनकपुरधाम र भारतको अयोध्याधामलाई रेल सेवामार्फत जोड्ने तयारी तीव्र पारिएको छ। प्रस्तावित जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गर्नुअघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षणका लागि भारतीय रेल्वेका अधिकारीहरू बिहीबार रेलसहित धनुषाको कुर्थासम्म आइपुगेका छन्।
रेल सेवा सञ्चालनका लागि आवश्यक सुरक्षा व्यवस्था, रेलमार्गको अवस्था, प्राविधिक क्षमता तथा व्यवस्थापकीय पक्षको स्थलगत निरीक्षण गरिएको हो। भारतीय रेल्वेका अधिकारीहरूले नेपाल रेल्वेका अधिकारीहरूसँग पनि रेल सञ्चालन र सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने तयारी गरेका छन्।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक परिवेश पराजुलीले रेल सञ्चालनको सम्भावना, रेलमार्गको क्षमता तथा सुरक्षालगायतका विषयलाई ध्यानमा राखेर निरीक्षण भइरहेको जानकारी दिए। उनका अनुसार रेल सेवा अहिले परीक्षण तथा तयारीकै चरणमा छ। सञ्चालनका लागि आवश्यक केही प्राविधिक र प्रशासनिक काम भने बाँकी छन्। ती काम आन्तरिक रूपमा अघि बढाइएको उनले बताए।
नेपालको जनकपुरधामदेखि भारतको अयोध्याधामसम्मको प्रस्तावित रेलमार्ग करिब ४६४ किलोमिटर लामो रहेको छ। धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने यी दुई सहरलाई रेल सेवाले जोड्ने तयारीले पर्यटन क्षेत्र उत्साहित बनेको छ।
जनकपुरधामलाई माता सीताको जन्मस्थल तथा अयोध्यालाई भगवान् श्रीरामको जन्मस्थलका रूपमा चिनिन्छ। त्यसैले यी दुई धार्मिक नगरीबीच रेल सेवा सञ्चालन हुँदा नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले लामो समयदेखिको प्रयास रेल सेवा सञ्चालनको दिशामा अघि बढ्नु सुखद भएको बताए। रेल सेवा सञ्चालन भएपछि धार्मिक पर्यटकको आवागमन बढ्ने र त्यसबाट होटल, रेस्टुरेन्ट, यातायात, खुद्रा पसललगायत स्थानीय व्यवसायले लाभ लिन सक्ने उनको विश्वास छ।
भण्डारीले धार्मिक पर्यटनसँगै व्यापारिक गतिविधि विस्तार गर्न नेपाल सरकारले थप पहल गर्नुपर्नेमा जोड दिए। उनले तेस्रो मुलुकबाट आयात तथा निर्यात हुने सामग्रीको ढुवानी सहज बनाउन महोत्तरीको भिठ्ठामोड वा धनुषाको जटही नाकामध्ये कुनै एकलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्न माग गरे। टाढाका नाकाबाट सामान ल्याउनुपर्दा ढुवानी खर्च बढ्ने गरेको उल्लेख गर्दै उनले स्थानीयस्तरमै व्यापारिक नाका सञ्चालन भए व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुग्ने बताए।
त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्णले जनकपुरधाम–अयोध्याधाम रेल सेवा सञ्चालनले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने बताए। अयोध्याबाट ठूलो संख्यामा धार्मिक पर्यटक जनकपुरधाम आउने सम्भावना रहेको उल्लेख गर्दै उनले सीमा आवागमन सहज बनाउन दुवै देशका नागरिकलाई लक्षित सकारात्मक नीति ल्याउन सरकारसँग आग्रह गरे।
उनका अनुसार दीर्घकालीन योजनासहित धार्मिक पर्यटकको आवागमन व्यवस्थित गर्न सके जनकपुरधामसहित समग्र मधेश प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्नेछ।
प्रस्तावित रेल सेवाको उद्घाटन नेपालका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको बताइएको छ। उद्घाटन भारतको राजधानी नयाँदिल्लीबाट गर्ने तयारी गरिएको जनाइएको छ। यसका लागि दुवै देशका रेल्वे पदाधिकारी, सुरक्षा निकाय तथा प्रशासनिक प्रतिनिधिहरूले आवश्यक तयारी अघि बढाएका छन्।
भारतीय विदेश सचिवको नेपाल भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव तथा अन्य अधिकारीबीच भएको छलफलमा पनि प्रस्तावित रेल सेवाको विषय उठेको जनाइएको छ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा जनकपुरधामबाट अयोध्यासम्मको बस सेवा शुभारम्भ गरेका थिए। तर उक्त सेवा लामो समय नियमित हुन सकेन। त्यसैले प्रस्तावित रेल सेवा उद्घाटनमा मात्र सीमित नभई नियमित र व्यवस्थित रूपमा सञ्चालन हुनुपर्नेमा स्थानीयवासी तथा व्यवसायीले जोड दिएका छन्।


तपाईको प्रतिक्रिया !