वीरगञ्ज । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने सम्भावना बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार मन्त्री सरकारबाट बाहिरिने तयारीमा जुटेका छन्।
नेकपा संसदीय दलको भर्चुअल बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसार सरकारबाट बाहिरिने निर्णय गरेको एक सांसदले जानकारी दिएका छन्। बैठकको निर्णयपछि चारै मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
राजीनामा दिने तयारीमा रहेका मन्त्रीहरूमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन्।
गत असोज ३० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेको थियो। सरकारलाई विश्वासको मत लिन अब आठ दिन मात्रै बाँकी रहेको अवस्थामा नेकपाका मन्त्रीहरू बाहिरिने तयारीले प्रदेशको राजनीतिक समीकरण थप पेचिलो बनेको छ।
यसैबीच, नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले केन्द्रमा तीन दलका शीर्ष नेताबीच नयाँ सत्ता समीकरण बनिसकेको दाबी गरेका छन्। तर जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त दाबीको खण्डन गरेका छन्।
जसपा नेपालभित्र पनि नयाँ सत्ता समीकरणका विषयमा छलफल भइरहेको बताइएको छ। प्रदेशमा सरकार परिवर्तनको कसरत तीव्र बन्दै जाँदा नयाँ सरकारको नेतृत्व कसले गर्ने र कुन दलहरूबीच सहकार्य हुने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
सरकार अल्पमतमा परेको र विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गएको अवस्थामा नेकपाका चार मन्त्रीको सम्भावित बहिर्गमनले मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ मोड ल्याउने देखिएको छ।


तपाईको प्रतिक्रिया !