वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक हेटौँडा–पथलैया सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार (कात्तिक १९ गते) साँझ करिब ५ः३५ बजे वीरगन्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्र.२–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीको बसवरिया गाउँपालिका–३ निवासी अन्दाजी २१ वर्षीय निराजन यादव गम्भीर घाइते भएका थिए। उनलाई साँझ ६ः३० बजे जिल्ला अस्पताल हेटौँडा पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गरी साँझ ६ः३९ बजे ईसीजी गर्दा मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती निवासी अन्दाजी २१ वर्षीय नन्दकिशोर दास घाइते भएका छन्। उनको दुवै हात, दुवै खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल हेटौँडामा उपचार भइरहेको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ कमाने निवासी अन्दाजी ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको टोलीसमेत खटिएको छ। प्रहरीले घटनाको आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
दुर्घटनापछि उक्त सडकखण्डमा कुनै पनि किसिमको सडक अवरोध नरहेको प्रहरीले जानकारी दिएको छ।


तपाईको प्रतिक्रिया !