काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले सिंहदरबार परिसरभित्रै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ।
शुक्रबार पूर्वाधार मन्त्रालयअगाडि जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा सल्लाहकार निधिको गाडीले आफूलाई ठक्कर दिएर लडाएको सांसद गैरेले बताएकी छन्।
घटनाबारे उनले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई समेत जानकारी गराएकी छन्। जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा हातले संकेतसमेत गरेको अवस्थामा गाडीले ठक्कर दिएको उनको भनाइ छ।
‘मन्त्रालयअघि जेब्रा क्रसिङमा म बाटो काट्दै थिएँ, हात पनि दिएको थिएँ। तैपनि मलाई गाडीले ठक्कर दियो र म भुइँमा लडेँ,’ गैरेले भनिन्।
गाडीको ठक्करबाट बाहिरी चोट नलागे पनि शरीरमा दुखाइ भइरहेको उनले बताएकी छन्।
पाल्पाकी गैरे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सदस्य हुन्। सिंहदरबारजस्तो संवेदनशील सरकारी परिसरभित्रै जनप्रतिनिधि नै जेब्रा क्रसिङमा ठक्करमा परेको घटनाले सवारी अनुशासन र पैदलयात्रीको सुरक्षामाथि प्रश्न उठाएको छ।


तपाईको प्रतिक्रिया !