ममताको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको नरेशद्वारा स्वीकार, हत्याको आरोप अस्वीकार

NEWS DESK
२०८३ कार्तिक २०, शुक्रवार १८:३५ बजे

अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकामा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले ममताको हत्या आफूले नगरेको र पत्नीले आत्महत्या गरेको दाबी गरेका छन्।

सन् २०२४ जुलाईमा अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन। अदालतमा बयान दिने क्रममा नरेशले जुलाई २९ को राति सुत्न गएको र भोलिपल्ट बिहान पत्नीलाई शयनकक्षमा अचेत अवस्थामा फेला पारेको बताएका छन्।

उनका अनुसार ममताको शरीरनजिक बान्ता, रगत, चक्की तथा ‘सेल्फोस’ नामक विषादी रहेको थियो। उनले पत्नीलाई बचाउन सीपीआर दिने प्रयास गरेको बताए पनि तत्काल प्रहरीलाई खबर नगरेको स्वीकार गरेका छन्।

शव टुक्र्याएर फोहोरमा फालेको बयान

नरेशले ममताको शव घरको डस्टबिनमा नअटाएपछि इलेक्ट्रिक आरासहित विभिन्न सामग्री प्रयोग गरेर शरीरका भाग छुट्याएको बताएका छन्। त्यसपछि शवका अवशेष फोहोरका झोलामा राखेर फल्स चर्च क्षेत्रमा फालेको उनको बयान छ।

शव व्यवस्थापनका लागि आवश्यक सामग्री खोज्न होम डिपो र वालमार्ट गएको, पञ्जा किनेको तथा चक्कु प्रयोग गरेको पनि उनले अदालतमा स्वीकार गरेका छन्। घटनापछि ममताको मोबाइल फोन नालीमा फालेको समेत उनले बताएका छन्।

घरेलु हिंसाको आरोप अस्वीकार

अदालतमा अभियोजन पक्षले ममताको आँखामुनि चोट लागेको र शरीरमा रगत देखिएको पुरानो तस्बिर तथा नरेशसँग भएका सन्देशहरू प्रमाणका रूपमा प्रस्तुत गरेको थियो। तर नरेशले आफूले पत्नीमाथि कहिल्यै घरेलु हिंसा नगरेको दाबी गरेका छन्।

अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले नरेशको बयानमाथि प्रश्न उठाउँदै शव टुक्राटुक्रा पारेर फोहोरमा फाल्नुको कारणबारे जवाफ मागेका थिए। नरेशले शव लुकाएको स्वीकार गरे पनि हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

यस घटनामा नरेशमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोग लागेको छ। ममताको शव अझै फेला परेको छैन।

प्रतिरक्षा पक्षले आगामी सोमबार नरेशसँग थप प्रश्न गर्ने र त्यसपछि आफ्ना प्रमाण तथा बहस प्रस्तुत गर्ने जनाएको छ। अदालतमा प्रस्तुत हुने प्रमाण र न्यायिक प्रक्रियापछि मात्रै घटनाको वास्तविकता तथा नरेशको आपराधिक जिम्मेवारीबारे अन्तिम निष्कर्ष आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्