२०७९ मंसिर २४, शनिबार १०:४९ बजे

बीरगंज । वडा प्रहरी कार्यालय बिर्ता पर्साको टोलीले ६१ लाख भन्दा बढीको भन्सारछलीका सामान लोड गरिएको ट्रक मंगलबार बरामद गरेको छ । पशुपति ट्रान्सपोर्टको उक्त ट्रकमा बिलविजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

भन्सारछलीका सामान लोड गरिएको ना ३ ख २७७ नम्बरको मालवाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय पर्सा विर्ताबाट खटिएको टोलीले मंगलबार राति साढे १० बजे वीरगञ्ज महानगरपालिका वडा नं ६ लोहारपट्टी चोकमा बरामद गरेको प्रहरीले जनाएको छ ।

पशुपति ट्रान्सपोर्टबाट पठाइएको ट्रकमा विल बिजक शंकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा ६१ लाख ४६ हजार १२ रुपैयाँबराबरका खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामग्रीहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी निर्मल बुढाथोकीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

तस्करीमा पशुपति ट्रान्सपोट, भन्सार प्रमुखसँग सेटिङ

पशुपति ट्रान्सपोर्टमार्फत् बर्षौदेखि राजस्व छलीका सामान ओसारपसार गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले पशुपतिमाथि अनुसन्धान अघि बढाएको थियो । पशुपति ट्रान्सपोर्टका संचालक राजेन्द्र गुप्ताले भन्सार सेटिङ गरी तस्करीका सामान ढुवानी गर्दैआएका छन् ।

२०७४ कात्तिकमा राजस्व अनुसन्धान कार्यालय बुटवलले पशुपति ट्रान्सपोर्ट कम्पनीमा शिलबन्दी गरेको थियो । राजस्व छलेको आशंकामा राजश्व कार्यालयले भैरहवास्थित पशुपति ट्रान्सपोर्ट कम्पनीमा शिलबन्दी गरेको हो ।

२०७८ बैशाख २ मा पर्साबाट खटेको प्रहरी टोलीले भन्सार छलेर चोरी पैठारी गरेर ल्याइएको ४२ लाख रुपैयाँ बराबरको मालसामानसहित पशुपति ट्रान्सपोर्टको ट्रक बरामद गरेको थियो ।

नक्कली बिल बिजक बनाई कस्मेटिक, हार्डवेयर र किराना सामान लोड गरेर वीरगञ्जबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ३ ख ७२१० नम्बरको ट्रकसहित चालकलाई पक्राउ गरिएको थियो ।

पशुपति ट्रान्सपोर्टका राजेन्द्रप्रसाद गुप्ताले तस्करीमात्र होइन, नक्कली बिलबिजक समेत बनाउने गरेको पाइए पनि शक्तिको आडमा उक्त कम्पनीमाथि कारबाही हुनसकेको छैन । राजस्व अनुसन्धान विभागमा समेत उनले सेटिङ गर्दैआएका छन् ।

बीरगंज भन्सारका यसअघिका प्रमुख अरुण पोखरेल हुँदा उनको सेटिङ त्यति नचले पनि अहिले गएका प्रमुख नवराज ढुंगानासँग उनले लाइन मिलाएर तस्करी सुचारु गर्दैआएका छन् । भन्सार प्रमुख ढुंगाना अध्यागमनमा हुँदा पनि खाडी राष्ट्रमा सेटिङमा महिलालाई पठाउने गरेको बिषयमा विवादमा परेका थिए । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बरिष्ठ अध्यागमन अधिकृत हुँदा कमलप्रसाद पराजुलीसहित १३ जनाबिरुद्ध अख्तियारले मुद्दा नै चलाएको थियो । बीरगंज भन्सारमा जानासाथ ढुंगानाले गुप्तासहितका तस्करीका बादशाहहरुसँग सेटिङ गर्न थालिसकेका छन् ।

प्रहरीसँगको कनेक्सनमा गडबडी हुँदा उनको ट्रक बरामद हुन पुगेको छ । सशस्त्र प्रहरीले समेत तस्करीमा साथ दिने गरेको छ । सशस्त्र प्रहरी १३ नम्बर गण पर्साका एसपी तेजप्रसाद पोखरेल तस्करीमा मुछिएको उजुरीपछि छानबिनका लागि केही दिनअघि तानिएका छन् ।

त्यसैगरी पशुपति ट्रान्सपोर्टले ट्रकमा औषधि ढुवानी भनेर गुट्खा र सूर्तिजन्य पदार्थ समेत ओसारपसार गर्ने गरेको छ । लकडाउनको समयमा २०७७ जेठ ११ गते काठमाडौबाट सिराहको लाहान जाँदै गरेको एउटा ट्रकबाट पशुपतिनगर प्रहरीले ५० बोरा गुट्खा बरामद गरेको थियो । औषधी ढुवानीको नाममा पशुपति ट्रान्सपोर्टले सूर्तिजन्य पदार्थमात्र होइन, इलेक्ट्रोनिक सामान समेत ओसारपसार गर्ने गरेको आरोप लागेको थियो । नेपालफेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय