
काठमाडौं – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवरलाई जोडेर मुद्धा कमजोर बनाउने र आफ्नो स्वार्थसिद्ध गर्नका लागि गिरोह लागि परेको छ ।
कुँवरको गिरोहका मुख्य सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको देखाउन खोज्ने, यो काण्डमा आईजीपीलाई मुछेर राजिनामा गर्न बाध्य गराउने र आफु आईजीपी हुने उत्कट चाहना पूर्ति गर्ने खेल भएको बताईन्छ।
हाल अनुसन्धानका लागि दुलाल र पाण्डे दुवै प्रहरी हिरासतमा छन् । अनुसन्धानको लागि उनीहरुको फोन पनि प्रहरीसंगै छ । त्यसो हुँदा प्रश्न उठ्छ, अनुसन्धानमा रहेको फोनको विवरण कसले बाहिर ल्याउन सक्छ ? यसको सहज उत्तर छ, प्रहरीले नै ।
प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको थियो । जसका विवरण प्रहरी कै सिनियर हाकिमको स्वार्थमा बाहिरिएको बताईन्छ। सो च्याटमा कुँवर आफैंले भने कतै बोलेका छैनन् ।
प्रहरी कै उच्च स्रोत अनुसार यो समाचार प्रायोजित छ, उक्त स्रोत भन्छ, ‘बाहिर आएको म्यासेजमा शरणार्थी प्रकरणका नाइके मध्येका एक केशव दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको भाइबर म्यासेज छ, जहाँ हालका आईजीपी कुँवरबारे संवाद गरिएको छ तर कुँवर स्वयमले म्यासेज गरेका छैनन्।’ उनि भन्छन यो त सरासर प्रहरी भित्र कोतपर्व निम्त्याउने खेल हो ।
यसको प्रष्ट संकेत एमाले नेता महेश बस्नेतले पनि गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘गृहमन्त्रीसँग समेत भएको भेटमा वर्तमान आइजीपीलाई पनि यही केसमा फसाएर भएपनि उनलाई फेर्ने योजना बनेको छ।’
आईजीपी फेर्ने योजना कसले बनायो भन्ने चाहिं उनले प्रष्ट भनेका छैनन् । कुँवरसंगै आईजीपीको प्रतिष्पर्धामा थिए, एआईजी श्याम ज्ञवाली । आईजीपी बन्न नसकेका ज्ञवाली हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख छन् । भुटानी काण्डको मुद्धा अनुसन्धान र आईजीपी बन्न पहिले गरेको प्रतिष्पर्धाको दुवै हिसाबले ज्ञवालीप्रति बस्नेतको संकेत हुन सक्छ ।
ज्ञवाली स्वयम् जन्ममिति विवाद भएका अधिकारी हुन् । एआईजी बढुवाको दुई दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेर उनको जन्ममिति विवादबारे छानबिन गर्न निर्देशन दिएको थियो ।
आफ्नो फौजलाई यो प्रकरणमा निर्धक्क अनुसन्धान गर्न निर्देशन दिएका कुँवरलाई समेत डामेपछि मुद्धा कमजोर बनाउन सकिने गिरोहको आंकलन देखिन्छ ।
लो प्रोफाइल’ मा रहेर काम गर्न रुचाउने कुँवर आईजीपी भएपछि पहिलो विदेश भ्रमण अमेरिका तय भएको थियो । तर अनुसन्धान कै लागि भन्दै उनले आफैं गृहमन्त्रीलाई भनेर भ्रमण रद्द गरे ।
कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा नै ठगी प्रकरणबारे पीडितको उजुरी परेको थियो । उजुरीपछि उक्त कार्यालयले एक जनालाई पक्राउ समेत गरेको थियो । त्यतिबेला राजनीतिक दबाबको कारण अनुसन्धानलाई अगाडि बढाउन पाएनन् । कुँवरमाथि गृहमन्त्री, सचिव र तत्कालीन प्रहरी प्रमुखबाट अनुसन्धान नगर्न दबाब पर्यो, यी तिनै यो प्रकरणमा जोडिएका थिए । आईजीपी हुनासाथ् प्रधानमन्त्री र गृहमन्त्रीको समर्थन पाएपछि उनले अनुसन्धान अघि बढाए । कान्तिपथ