वीरगंज – २९ जेठ । पर्साको टिहुकी भेडिहर्वा सिमानाकाबाट खुल्लेआम रुपमा तस्करी भईरहेको एक घटनाले थप उजागर गरेको छ ।
प्रहरीको संरक्षणमा टिहुकीबाट तस्करी भएको नेपाली सिल प्याक मदिरा भारतीय प्रहरीले सिमानाकाबाट गाडीसहित ठूला परिमाणमा पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका – २ टिहुकीको सिमानाका हुँदै तस्करी गराएको एक भारतीय नम्बर प्लेटको गाडीसहित १ हजार १० बोतल नेपाली मदिरा शुक्रवार बिहान भारतीय प्रहरीले बरामद गरेको हो ।
यस्तै, छिपहरमाई गाउँपालिका वडा नं. – २ टिहुकी र वडा – ३ स्थित झलमहियामा खुलेयाम रुपमा अबैध घरेलु मदिरा उत्पादन , बिक्री बितरण र भारततर्फ तस्करी हुने गरेको भएपनि समन्धित निकाय मौन रहेको स्थानियले आरोप लगाएका छन् ।
सो बस्तीमा कच्चा पदार्थबाट मदिरा उत्पादन गर्ने गरेको स्थानीय वासिन्दाले बाताएका छन । टिहुकी र झलमहियामा दर्जनौं अबैध घरेलु मदिरा भठी संचालनमा रहेको छ ।
टिहुकी र झलमहियामा अबैध घरेलु मदिरा उत्पादन भएपछि बच्चा देखी ठुलाबडा सम्मले मदिरा सेवन गर्न भारत बिहारको विभिन्न स्थानबाट सेवनकर्ताहरु आउनेगरेको र मदिरा सेवन गरेर जथाभावी बोल्ने होहल्ला समेत गर्ने गरेको स्थानीयले जनाएका छन् ।
स्थानीयले सो गाउँमा बनिरहेको मदिरा तत्काल रोक्नु पर्ने बताए । टिहुकी र झलमहियामा खुल्याम रुपमा मदिरा बनेर बिक्रि वितरण र भारततर्फ तस्करी भएपनी प्रहरी चौकी टिहुकीले रोक्ने प्रयास समेत नगरेको स्थानियले गुनासो गरेका छन ।
यस्तै, नेपाली बालुवाको पनि रातिराती भारततर्फ तस्करी भईरहेको छ । तस्करहरुले खोलाबाट उत्खन गरेर ट्रेक्टरमा लोड गरि सिमानाका नजिक टिहुकी र भेडिहर्वा गाउँमा ल्याएर राख्ने र रातिराती प्रहरीकै संरक्षणमा नेपाली बालुवा भारततर्फ तस्करी हुने गरेको खबर प्राप्त भएको छ ।
यस्तै, टिहुकी र भेडिहर्वा सिमानाकाबाट ट्याक्टरको माध्यमले गहुँ तस्करी हुँदैआएको छ । रातको समयमा एक दर्जन भन्दा बढी गहुँ लोड रहेको ट्याक्टर दैनिक नेपालतर्फ भित्रयाउने गरिएको स्थानीय बासिन्दाहरुले बताएका छन ।
सीमानाकाबाट भइरहेको तस्करी र अबैध घरेलु मदिरा भठी संचालनमा रहेको बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहसँग सोध्दा उनले मेरो मातहतका प्रहरी कडाईका साथ सकृय रुपमा लागेको छन , तस्करीमा प्रहरीको कुनै सन्लगन्ता नरहेको उनले दाबी गरे । तस्करहरुले तस्करी गर्न कोशिस गरिरहेको हुन्छन् लुकाईछिपाई तस्करी गरिरहेको पनि हुन्छन र बेला बेला पक्राउ पनि पर्छन उनले प्रतिक्रिया दिए ।