सिरहाको सीमानाकाबाट खुलेआम तस्करी, सशस्त्रका एसपी देखी डिआईजीसम्म सेटिङ



लहान । सरकारले भन्सारछली तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल गठन गरेको छ । नेपाल प्रहरीलाई पनि तस्करी नियन्त्रण गर्ने अभिभारा छ । भन्सार कार्यालयले पनि तस्करी नियन्त्रण गरी राजस्व असुली गर्ने जिम्मा पाएको छ । तर सिरहामा भने यी तीनै निकायको मिलेमतोमा खुलेआम तस्करी भइरहेको छ ।

सिरहाका भारतसँग जोडिएका नाकबाट सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलकै हाकिमहरुको सेटिङमा कसरी तस्करी हुन्छ ? कुन कुन तस्करहरुले सशस्त्र प्रहरी बल ७ नम्बर गणका गणपतिलाई मासिक कति कति दररेट बुझाउँछन् ? हाम्रा संवाददाताले सिरहाका सीमा नाकामा स्थलगत रिपोर्टिङ गर्ने क्रममा देखेका दृश्य सविस्तार लेखेका छन्ः

केही दिनअगाडि यो पंक्तिकार सिरहा जिल्ला सदरमुकाममा जानुपर्ने थियो । बेलुका ६ बजे म र मेरा एक मित्र सिरहाका लागि हिड्यौं । बाटोमा भारत बिहारको जयनगर हुँदै करिब ७ः४५ बजेको होला नेपाल–भारत सिमाना सँगै रहेको दशगजा हुँदै ३ वटा पिकअप भ्यान पूर्बतिर हुइँकिरहेको देखियो ।

मैले केही दिनअगाडि सुनेको थिएँ, सिरहाका बिभिन्न नाकाबाट ब्यापक तस्करी हुन्छ । मेरो चासोको विषय भएका कारण मलाई त्यो तीन वटा पिकअपभ्यान मूल बाटो छोडेर चौरीतिर किन गयो भन्ने बुझ्ने कौतुहलता जाग्यो । दशगजासँगै रहेका नेपाली बाटोमा बाइक रोकेर एक जना बटुवालाई सोधें–ती पिकअप किन उता गएका हुन् दाइ ? उनले भने–‘तपाईंको घर कहाँ हो ? यति पनि थाहा छैन ? यो बोर्डर हो, राति राति सीमा वारपार के के हुन्छ भन्ने कुरा ? तपाईं आफै अनुमान लगाउनुस् न ।’

मलाई सिरहा जाने हतार थियो । तर प्रश्न तस्करीको आएपछि मलाई चासो लागे पनि मलाई सिरहा जाने हतार थियो । यो कुराको खोजीनीति हुनुपर्छ भन्दै म त्यहाँबाट सिरहातिर लागिहालेँ ।

सीमाबाट हुने यस्तो खुलेआम तस्करीले राजस्व असुलीमै असर परेको कुरालाई मध्यनजर गरी म त्यसको एक सातापछि २०८० साउन ४ गते शनिबार फेरि एक जना सहयोगीसँगै मनमा उठेका जिज्ञासा मेट्न सिरहातिर लागें । बोर्डर आउटपोष्ट रहेका ठाँउका स्थानीयहरु, बोर्डरमा सानातिना ब्यापार गर्ने ब्यापारीहरु, ड्युटीमा रहेका सशस्त्र प्रहरीका जवानहरुदेखि अधिकृतहरुसँग भेटेर मैले सीमानाकाबाट हुने चोरी तस्करीबारे बुझ्ने प्रयास गरें ।

तस्करीको नेटवर्क एसपीदेखि डीआईजीसम्म

सिरहामा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयकै सेटिङमा सुरक्षित र व्यवस्थित तस्करी भइरहेको छ । सिरहाको ४६ किलोमिटर क्षेत्रमा जम्मा सशस्त्रका दुईवटा गुल्म र पाँच वटा बोर्डरआउट पोष्ट रहेका छन् । प्रस्तावित सीमा सुरक्षा गुल्म इनरुवा ठाडी मातहत मानबराजपुर र बडहरी बीओपी पर्दछन् । त्यस्तै प्रस्ताबित सिमा सुरक्षा गुल्म माडर अन्तर्गत लगडी, इटाटार र बरियारपट्टि बीओपी पर्दछन् ।

सिरहामा हुने तस्करीको मुख्य नाका भनेकै माडर हो । यहाँ अहिले प्रस्तावित गुल्म भएका कारण डीएसपीको दरबन्दी रहेको छ । डिएसपी पवन खड्का ५ गते काठमाडौं तालिमबाट फर्किने बित्तिकै अबैध हुण्डी कारोबारीहरु उमेश साह र नरेश साहले बेरोकटोक काम शुरु गरेका छन् ।

यहाँबाट तस्करी गर्ने ओपेन्द्र साह, अजाद हुसेन मियाँ, प्रमोद, राम सेवक, इन्द्रदेब, लटु र धियानीको लगायतका कपडा तस्करहरुको एउटा समूह रहेको छ । यो समूहले सिरहाका एसपी प्रमोद भारतीलाई प्रतिमहिना ७ लाख ५० हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म बुझाउने गरेको स्रोतको दाबी छ ।

यहाँबाट ललिता, झरकलही, ओकिल, लाल, ज्याहुल, र दरबीन, अजित, मोहन, दिनेश, भारतीय तस्कर अजय, रामकुमार यादबले मासिक ३५ हजारदेखि १ लाख रुपैयाँसम्म भारतीलाई बुझाउने गरेका छन् ।

यसबाहेक यहाँका डिएसपी खड्काले मात्र महिनाको १२ लाखभन्दा बढी उठाउने गरेका छन् । माडर नाकाबाट काम गर्ने अपाङ्गहरुको संख्यामात्रै ५ दर्जन भन्दा बढिरहेको छ । प्रत्येक अपाङ्गसँग माडरका घुमुवा पूर्णदेब महतोले दररेट अनुसार घुस लिएर डीएसपी खड्कालाई बुझाउने गरेको स्रोतले बतायो । स्रोतका अनुसार अपाङ्खसँग समेत ३५ देखि ४० हजार रुपैयाँको दररेट राखिएको छ ।

त्यसपछि हामी सिरहाको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट बडहरीमा रिपोर्टिङका लागि पुगियो । त्यहाँ जानु अगाडि मैले दीपेन्द्र साहको लोकल बसमा बडहरीबाट लहानसम्म अबैध किराना मसामान जाने गरेको सुनेको थिएँ । म त्यसैलाई लक्षित गरी बिहान बजे त्यहाँ पुगे । त्यहाँ पुग्दा सूचना पाएजस्तै बसमा दीपेन्द्र साह, देबीन पासवान र हिना सिंहका कयौं पोका मालसमान धमाधम लोड भइरहेको दृश्य देखियो । मनमा फोटो अथवा भिडियो लिनुपर्दछ भन्ने लागेको थियो तर डरले त्यो गर्न सकिएन । नौलो ठाउँ र नयाँ मानिस भएका कारण भिडियो र फोटो लिन सकिएन ।

स्रोतका अनुसार सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाका एसपी प्रमोद भारतीलाई बडहरी नाकाबाट कपडाका मुख्य कारोबारी भगवानलाल साहले मासिक रुपमा दररेट बुझाउने गरेका छन् । कपडाकै कारोबार गर्ने राघब र पहाडीले पनि एसपीबाटै लाइन पाएका रहेछन् । भगवानलालले १ लाख र राघव र पहाडीले ५० हजार रुपैयाँ दररेट बुझाएर लाइन पाएको स्रोतले बतायो ।

म त्यहाँबाट सिरहाकै सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट बरियारपट्टितिर फर्कियौं । त्यहाँ सिमापारी भारतको लदनीया बजारबाट आएका सानातिना घरायसी सामान बोकेका ब्यक्तिहरुलाई सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखें । सशस्त्र क्याम्पभित्र रहेका छोटी भन्सार अगाडि चिनी, तेल, महिलाले लगाउने कपडा लगायतका मालसामानहरु ब्यापारीहरुले थन्क्याएका थिए । हामीले गुड्दै गरेको बाइकबाट फटाफट ५÷७ वटा फोटो खिच्न भ्यायौं ।

बरियारपट्टि नाकाबाट राजीब यादब, बिजय साह, राकेश यादब र नथुनी साहले कपडाको तस्करी गर्ने गरेका छन् । उनीहरुले तस्करी गर्न छुट दिएबापत प्रतिमहिना ३ लाख ५० हजार बुझाउने गरेको स्रोतले बतायो । त्यस्तै यहाँबाट एसपी भारतीलाई गिता, रेणु, जीबछी, दाँतवाली (घुमुवाले बोलाउने नाम) ले प्रतिमहिना ७० हजार रुपैयाँ दिने गरेको स्रोतले बतायो ।

त्यस्तै प्रस्तावित सिमा सुरक्षा गुल्म, इनरुवा(ठाडी) मा केही दिनयता डिएसपीको दरबन्दी कायम गरिएको छ । यहाँ केही महिना अगाडिदेखि डीएसपी दीपेन्द्र थापाले ब्यापक रुपमा तस्करीको लाइन दिएका छन् । पटक पटक विवादमा तानिएका डिएसपी खड्का एसपी भारतीकै संरक्षणमा कारबाहीबाट उम्किदै आएका छन् ।

यो नाकाबाट सदाम मियाँले गाई, गोरु नेपालबाट भारत र खसीबाख्रा र राँगा भारतबाट नेपाल ल्याउने गरेका छन् । उनको अर्को मुख्य कारोबार भनेको हुण्डी पनि हो । यी कारोबारमा आँखा चिम्लिएबापत सशस्त्रका मधेश प्रदेशका डीआईजी दीपेन्द्र शाहलाई मासिक दररेट बुझाउने गरेको स्रोत बताउँछ ।

यस्तै कपडा र इलेक्ट्रोनिक्स समानको कारोबार गर्ने बैजु मण्डल, बलराम गुप्ताले पनि दररेट अनुसार घुस बुझाएर तस्करी गर्न छुट पाएका छन् । यहाँका रामसिया, पिंकी, लिपिस्टिकवाली किराना तथा महिलाले लगाउने कपडा र कस्मेटिक समानको कारोबार गरे वापत सशस्त्र प्रहरीका एसपी भारतीलाई नजराना बुझाउने गरेका छन् । पवन गुप्ता, बासुकी साह, बिकास भन्ने भारतीय ब्यापारीले पनि सेटिङमै तस्करी गर्ने गरेका छन् ।

तस्करीको हिसाबले प्रायः बन्द रहेको भनिएको नाका भारत बिहारको पोदमा वीओपी इटाटारको इलाकामा पर्दछ । तर केही महिनायता यो नाका पनि निकै चल्तीमा रहेको छ । यहाँबाट बंठा र बिनोद भन्ने ब्यापारीले नेपालबाट भारततर्फ रक्सी भारतमा तस्करी गर्ने गरेका छन् । यी दुबै जनाले एसपी भारतीलाई नै मिलाएका छन् । स्रोतका अनुसार उनीहरुको दररेट मासिक १–१ लाख रुपैयाँ तोकिएको छ ।

जिबछ यादव र भारु नाम गरेका ब्यापारीलाई खानेतेल, चिनी, कपडा र रक्सीको लाइन दिएवापत दररेट तोकेर घुस असुली गर्ने काम हुँदैआएको छ । त्यस्तै राजा सहनी माछाका कारोबारी हुन् । उनले भारतबाट एक पैसा भन्सार नतिरी नेपालमा दैनिक ६ वटा मोटरसाइकलमा दर्जनौं पटक माछा नेपालमा ल्याउँछन् । त्यस वापत उनले पनि सशस्त्र प्रहरीका एसपीसँग सेटिङ मिलाएर मासिक रुपमा रेट तोकेरै घुस बुझाउँदैआएका छन् ।

यता केही दिनअघि सशस्त्रका तत्कालीन घुमुवा प्रहरी हबल्दार रामप्रबेश राय यादव ताप्लेजुङ रवाना लिई गइसकेपछि उनको ठाउँमा रामकुमार खङ्गलाई बीओपी बडहरीमा परिचालन गरिएको छ । उनी गणकै एसपी भारतीको घुमुवाको रुपमा काम गरिरहेका छन् । खङ्गले सबै ठाँउमा कुरा मिलाउन नसकेपछि केही दिनअघि ताप्लेजुङबाट यादबलाई बिदामा बोलाएर लहानको एक होटलमा ब्यापारीहरुसँग सेटिङ मिटिङ बोलाई मिलाइएको थियो ।

सिरहामै घर भएका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य देवकुमार यादवले त तस्करहरुले राति राति भन्सार छलीका सामान ओसार्दा धानखेतीमै नोक्सान पु¥याएको तस्वीर सामाजिक संजालमा राखेका छन् । तस्करबाट धान खेत नष्ट हुनबाट जोगाउन राति जाग्राम बस्नुपरेको उनले लेखेका छन् । उनले लेखेका छन्–‘भन्सारछेउमा रहेको जग्गामा लगाएको बाली तस्कर र ब्ल्याकियाले आवत जावत गरेर नस्ट गरिदिएको भन्दै तस्कर लखेट्न स्थानीय पत्रकार नरेश बर्बरियाले रातिमा जाग्राम बस्न सुरु गरेका छन् । साभार : नेपालफेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज