नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा



कलैया । सरुवा हुन लागेका जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखलाई तस्करीको लाइन खुलाउन मासिक दररेट बुझाएका ब्यापारीहरुको लगानी डुबेको छ । प्रसंग हो, बाराको मुसर्वा नाकाको । उक्त नाकाबाट बाराका यसअघिका एसपी होविन्द्र बोगटीले जीतेन्द्र यादव, सरोज र हरेन्द्रसहितका ब्यापारीलाई मासिक कबोल गरेको अंक बुझेर तस्करीको लाइन दिएका थिए । तर उनी सरुवा हुनासाथ आएका एसपी सुरेशराज काफ्ले हाजिर भएकै भोलिपल्टदेखि तस्करीको लाइन बन्द भएपछि ब्यापारीहरु आक्रोशित भएका छन् । र, मासिक रुपमा दिएको रकम फिर्ता मागेपछि सेटिङमा संलग्नहरुबीच हंगामा मच्चिएको छ ।

ब्यापारीहरुले मुसर्वा नाकाबाट तस्करीको लाइन चलाउन नेपाल प्रहरी बारा र सशस्त्रका बारा गणका एसपीलाई २ लाख, प्रहरी र सशस्त्रको घुमुवा टोलीलाई ५०–५० हजार, मुसर्वा चौकीका सई र सशस्त्रको बीओपी इन्चार्जलाई पनि ५० हजारका दरले दिने गरी तस्करीको लाइन चलाउने गरी सेटिङ गरेका थिए ।

यो सबै लाइन खुलाएबापत तस्करहरुबाट संकलन गरी संयोजन गर्ने जिम्मा बारा जिल्लास्थित क्राइम ब्रान्चका बरिष्ठ हवल्दार रविन्द्र यादव र सशस्त्रका घुमुवा रन्जित गुप्तालाई दिइयो । प्रहरीका एसपी होविन्द्र बोगटीले मासिक दररेट बुझेर आफ्नो सरुवा २ दिनमै निक्लने थाहा पाएपछि तस्करलाई लाइन दिएका थिए । २ दिनपछि एसपीको सरुवा निस्कियो । उनी रमाना बुझेर गए । बारामा नयाँ एसपीका रुपमा सुरेशराज काफ्ले हाजिर भए ।

काफ्ले इन्चार्ज भएका ठाउँमा तुलनात्मक रुपमा राम्रै काम गर्ने अधिकृतमा पर्दछन् । उनी बारामा हाजिर भएपछि तस्करीको लाइन खुलाउने मुसर्वाका बरिष्ठ सई बसन्त थापा पनि १५ दिन बिदा लिएर काठमाडौंतिर लागे । इलाका प्रहरी कार्यालय गण्डकका इन्स्पेक्टर बिनोद बोहराले नयाँ एसपी काफ्लेले प्रहरीको संरक्षणमा तस्करीको लाइन खुलेको थाहा पाएमा अप्ठेरो पर्ने त्रासले रबिन्द्र यादवलाई सामान ल्याउन रोक्नू भने । नरोके बरामद गर्ने भनेपछि उनले ब्यापारीलाई सामान ल्याउन रोके । मासिक दररेट बुझाएका ब्यापारीहरु ४ दिनमै सामान बरामद गर्ने भनेपछि लगानी डुबेकोमा रुष्ट भएका छन् ।

एक महिनाको पैसा बुझाइसकेको तर काम ४ दिनमै रोकिएपछि निकै आक्रोशित भएका ब्यापारीहरु पैसा फिर्ता चाहियो भन्दै हवल्दार रविन्द्र यादवसँग ताकेता गर्न थालेका छन् । कि तस्करीको लाइन चल्न दिनुपर्ने कि त दिएको रकम फिर्ता गर्न माग गरेको बिषय एक कान दुई कान वर्तमान एसपी काफ्लेको कानमा पनि पुगिसकेको छ । ब्यापारीहरुले घुस फिर्ता माग्न थालेपछि निवर्तमान एसपीदेखि मुसर्वाका सईसम्म तनावमा छन् । ब्यापारीहरु यो बिषय नेपाल प्रहरीका डीआईजी जनक भट्टराईदेखि सशस्त्रका दीपेन्द्र शाहसम्मलाई गुनासो गर्ने तहमा पुगिसकेका छन् ।

बोगटीले बारामा आफू सरुवा भएपछि लाइन जारी राख्न गहृमन्त्रालयमा कार्यरत एसपी सुवास बोहरालाई ल्याउन लागे । उनले त्यसका लागि बरिष्ठ सई सागर राणालाई समेत परिचालन गरेका थिए । तर आईजीपी बसन्त कुँवरले बोहराको ट्रयाकरेकर्ड हेरेर उनलाई पठाउन मानेनन् । उनले तुलनात्मक रुपमा इमान्दार मानिने काफ्लेलाई बाराको कमाण्ड गर्न पठाए ।

सशस्त्र प्रहरीे १२ नं. गण बाराका एसपी टोपबहादुर डाँगीले सिपाही रन्जित गुप्तालाई घुुमुवा राखी असुलीमा लगाएका छन् । उनको दरबन्दी मोरङको सशस्त्रको ३ नम्बर गणमा हो । अर्कै प्रदेशमा दरबन्दी भएका यादवलाई तस्करहरुसँग असुलीका लागि घुमुवा राखिएको छ । घुमुवा यादवलाई सशस्त्रको मुख्यालय हल्चोकमा कार्यरत एसएसपी बिष्णु भट्टको पनि संरक्षण छ । भट्ट गणेश ठाडा मगर मधेश प्रदेशकोे बाहिनीपति (डीआईजी) हुँदा ट्वाइसी थिए । त्यहीबेलादेखि उनले अर्कै प्रदेशमा दरबन्दी भएका घुमुवा गुप्तालाई लाभ लिएर संरक्षण गर्दैआएको आरोप छ ।

नेपाल प्रहरीका बरिष्ठ हवल्दार रविन्द्र यादव बारामा ८ बर्षदेखि कार्यरत छन् । उनी ८ बर्षदेखि एसपीका घुमुवाका रुपमा तस्करहरुसँग कनेक्सन मिलाउने पात्र हुन् । एसपी दिलीपसिंह देउवादेखि होविन्द्र बोगटीले बारामा उनैमार्फत् तस्करीको लाइन दिएर दररेट असुली गर्दैआएका थिए । साभार : नेपालफेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज