सशस्त्रका एसपीले महिनावारी लिएर लाइन खोल्दा मौलायो तस्करी



वीरगञ्ज-१ माघ।  सीमा क्षेत्रको सुरक्षा गर्ने प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलको हो। सीमा सुरक्षादेखि सीमा क्षेत्रबाट हुने तस्करीलाई नियन्त्रण गर्नु सशस्त्र प्रहरीको मुख्य दायित्वभित्र पर्छ। तर, त्यही प्रहरी तस्करसँग मिलेर तस्करीलाई प्रशय दिइरहेको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ।

पर्साको सदरमुकाम वीरगञ्जसहित पश्चिमी र उत्तरी ग्रामीण भेगका दर्जनौं सीमानाकाबाट सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलकै हाकिमहरूको मिलेमतोमा दिनदहाडै खुलेआम तस्करी हुँदै आएको पाइएको छ। सशस्त्र प्रहरीले कुन सामान भित्र्याएको कति रकम असुल्ने भन्ने दररेट नै छुट्याएको विवरण हामीलाई प्राप्त भएको छ ।

ठोरीको सिमानाकाबाट हरि सिलवालको राँगा -भैँसी र खसीबोका तस्करी !

ठोरी गाउँपालिका-४ विजयबस्तीमा लाग्ने पशु हार्ट बजारका मुख्य नाइके सिन्धुपाल्चोकका हरि सिलवाल हुन्। सशस्त्र प्रहरीमा हरि सिलवालकै नामबाट लाईन छ । उनकै सहभागितामा भारतबाट तस्करी भएर आउने राँगा, भैँसी र खसीबोका ठोरी हाट बजारमा बिक्री हुने गरेको स्थानीयको गुनासो छ।

हप्ताको दुई दिन बिहीबार र आइतबार विजयवस्तिमा ठोरी पशुहाट बजार लाग्ने गर्छ। सिलवालले मध्यरातदेखि बिहानसम्म प्रहरीकै सहयोगमा राँगा, भैँसी र खसीबोकाहरुलाई पशुहाट बजारसम्म पुर्‍याउने गर्छन्। भारत बिहारको विभिन्न ठाउँबाट राँगा-भैँसी र खसीबोका खरिद गरी महादेवपट्टी, सुवर्णपुर, विजयवस्तीसँग जोडिएको भारतको रामपुर, धुङटार, हुमाटार भाँगहाबलुवालगायतको नाकाबाट सशस्त्र प्रहरीकै संरक्षणमा निर्बाध पशुहरू भारतबाट नेपाल भित्रिने गरेका छन्।

त्यसरी भित्रिएका पशुलाई आइतबार र बिहीबार चल्ने पशु हाटबजारमा ल्याएर विक्री गरिँदै आइएको छ। हाटबजारमा बेच्नका लागि नेपालकै किसानबाट खरिद गरेको कागजात बनाएर नेपाली पशु प्रमाणित गरिँदै आएको छ। त्यसपछि उनीहरूलाई कीर्ते भेटनरी प्रमाणित गराई पशुपंक्षी फर्मबाट खरिदबिक्री गरेर पोखरा काठमाडौं लगायत देशका विभिन्न सहरमा पठाइन्छ।

पर्साको बिजयबस्ती बजारबाट प्रत्येक साता करिब आठ सयदेखि एक हजारको हाराहारीमा राँगा-भैंसी र दुई हजार भन्दा बढी खसी-बोका पोखरा, काठमाडौंलगायत सहरमा पठाउने गरिएको छ। सशस्त्र प्रहरी बलको नम्बर १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्य हुँदै मधेस प्रदेश बाहिनीका डिआइजी दीपेन्द्र शाहसम्म सेटिङमा तस्करी हुने गरेको स्थानीयको गुनासो छ।

अमरपटी नाकाबाट यसरी हुन्छ तस्करी, तस्करको नामसहित !

पर्सामा चल्ला तस्करीमा अनुप र उत्तम तिवारीको संलग्नता रहँदै आएको छ। उनीहरूले अमरपटी नाकाबाट चल्लाको ठूलो मात्रामा तस्करी गरिरहेका छन्। पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ।

उनीहरूको समूहले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातिको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराका चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोतले नै बताएको छ।

अमरपटी, मधवल, झौवा, ईटियाही, विश्रामपुरलगायत पाँच गाउँमा मात्र ८० देखि १०० वटासम्म कुखुरा फर्म तस्करीकै कुखुरा चल्लाको भरमा चलिरहेका छन्। अनुप र उत्तम तिवारीको समूहले सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका एसपी किशन कर्मचार्यलाई महिनाको सात लाख रुपैयाँसम्म बुझाउने गरेको स्रोतको दाबी छ।

उत्तम तिवारीले कपडा र कुखुराको चल्ला तस्करी गर्ने गरेका छन्। यस्तै, तिलावे बार्वाका भुवन यादवले अमरपटीबाट प्याज र भैँसी तस्करी गर्दै आएका छन्। उनले रातको समयमा मोटरसाइकलको माध्यमबाट भारतबाट प्याज ल्याएर घरमा भण्डारण गर्छन्। र, दिनमा त्यही प्याज लोड गरेर उनले देशका विभिन्न भूभागमा पठाउने गरेका छन्। त्यसका  साथै उनले भारतबाट तस्करी गरेर ल्याएका भैँसीलाई नेपाली भैँसी हुन् भनेर नक्कली कागज बनाएर बेच्ने गरेका हुन्।

अमरपटी नाकाबाट टुना, अमरदेव, छोटेलाल र पिन्टुसहित चार जनाले भारतबाट नेपालतर्फ गहुँ र धान तस्करी गर्दै आएका छन्। दिन र रात भरिया लगाएर साइकलको माध्यमले उनीहरूले तस्करी गर्ने र उक्त सामान ट्र्याक्टरमा लोड गरेर बहुअरवा र वीरगन्जका मिलमा पठाउने गरेको खुलेको छ।

भारतबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएको गाडीको टायर भारततर्फ तस्करी हुँदै आएको छ। सिल प्याक मदिरा तथा घरेलु मदिराको पनि अमरपटबी सीमानाकाबाट तस्करी भइरहेको छ। मुना नामक दुई जना, भोला र भुलन गरी चार जना व्यापारीले प्रहरीलाई मोटो रकम बुझाएर मोटरसाइकलको माध्यमले कपडाको ठूलो तस्करी गर्दै आएका छन्। सुनिलले राजनिवास र रजनीगन्धा तस्करी गर्दै आएका छन् भने विनयले हार्डवेयरको सामान तस्करी गरिरहेका छन्। बिगा र सञ्जयले कवाड तस्करी गरिरहेको पाइएको छ।

प्रसौनीभाठा नाकाबाट कपडा र राँगाभैँसी तस्करी गर्न को को ले पाए लाईन तस्करको नाम तथा प्रहरीलाई बुझाउने दररेट सहित !

प्रसौनीभाठा सीमानाकाबाट कपडा तस्करी सरोज सरफदेवका समूह, आलम, अशोक र असलमले गर्दै आएका छन्। सशस्त्रका एसपीलाई सरोज सरफदेवका समूले तीन लाख, अशोकले १ लाख ६० हजार र असलमले ९५ हजार रुपैयाँ महिनाको बुझाउँदै आएको छ। यिनीहरूले तस्करी गरेर ल्याएका कपडा केहुनिया, बिशरामपुर, पोखरिया, डकैला, परवानीपुर, जितपुरलगायत ठाउँमा सञ्चालन रहेका कपडा पसलहरूमा दिने गरेका छन्।

यस्तै, प्रसौनीभाठा नाकाबाट हुने गरेको मासुजन्य चौपाया राँगा-भैँसी तस्करी निकै फस्टाएको छ। सशस्त्रका एसपीलाई महिनाको पाँच लाख रुपैयाँ बुझाएर तस्करीले सुरक्षित रूपमा तस्करी गर्दै आइरहेको पाइएको छ।

अलौ कोनिया नाकाबाट बैजनाथ यादव, हरेन्द्र पटेल, जयप्रकाश र राजकिशोरले बेरोकटोक कपडा तस्करीको काम गर्दै आएका छन्। उनीहरूको समूहले कपडा तस्करी गर्न पाँच वटा मोटरसाइकल प्रयोग गर्ने गरेका छन्। मासिक तीनदेखि पाँच लाख रुपैयाँसम्म प्रहरीलाई बुझाएर उनीहरूले सुरक्षित रूपमा तस्करी गर्दै आएका हुन्। अलौ र सृसिया नाकाबाट दर्जनौं तस्करहरुले कपडा, काजु, पिस्ता, मरिच, सुपारी,पियाजको तस्करी गर्न लाईन पाएका छन । यो नाकामा तस्करी खुब चम्केको छ ।

यस्तै धोरे नाकाबाट पनि धानको तस्करी खुब चम्केको छ । धोरे नाकामा  पर दिन १५ देखि २०  ट्रेक्टर धान तस्करी भइरहेको खबर छ ।

वीरगंज महानगरपालिकामा पर्ने  नाकाहरुमा यसरी हुँदैछ तस्करी ।

वीरगन्ज महानगरपालिकामा पर्ने इनर्वा भन्सार, छपकैया, सृसिया, भकुवा, अलौ, कोनियालगायत नाकाबाट प्रहरीको सेटिङमा खुलेआम तस्करी भइरहेको छ। पर्साको इनर्वागाउँ, भन्सारनाका, छपकैया, सृसिया, भकुवालगायत नाकाबाट ठूलो मात्रामा अवैध रूपमा सामानको तस्करी हुँदै आएको छ। भारतीय सीमावर्ती प्रसिद्ध बजार रक्सौलबाट लत्ताकपडा, प्याज, काजु-पिस्ता, मरीच, जुत्ता-चप्पल, हार्डवेयर, इलेकट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, कस्मेटिक तथा खेलकुदलगायत सामग्रीको तस्करी भइरहेको हो।

भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस्, भाँडाकुडा र माछालगायतका समान पनि पिकअप भ्यान, ई-रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर दैनिक नेपाल भित्रिने गरेको स्थानीयको गुनासो छ । यसले ठूलो राजश्व छली भइरहेको उनीहरू बताउँछन्।

इनर्वा भन्सार नाकामा झण्डै एक दर्जन तस्कर सक्रिय छन्। कपडा र हार्डवेयरको काम गर्ने भोला सोनार, काजु र कपडा, हार्डवेयरको काम गर्ने नवराज, रक्सीको काम गर्ने मुकेश, कपडाको काम गर्ने तमन्ना, लेडिज कपडाको काम हसिना र कालिचन्दा, कपडाको काम गर्ने मुस्तान, मिना र मिरा, काजुको काम गर्ने मुखिया, कपडाको काम गर्ने शम्भु र केदार उक्त नाकामा सक्रिय छन्।

यस्तै, सृसियानाकाबाट अनिल साह, बबन, जितु, फारुक र डाबवाले तस्करी गरिरहेका छन्। पशुपति यादवले भारतबाट काजु र रेडबुलजस्ता समानको तस्करी गरिरहेका छन्। बैजु साह, मञ्जु पटेलले भेटनरी, हार्डवेयर, इलेकट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टसको तस्करी गरिरहेका हुन्।

सीमानाकाबाट प्रहरीले सेटिङमा पास गराएको कपडा र हाडवेयरलगायतका सामान तस्करले वीरगञ्जका विभिन्न स्थानमा जम्मा गरी थोरै माल समानको राजस्व तिरी गोदाममा ल्याएर तस्करीका सरसमान मिसावट गरी बिल बिजक भन्दा दोब्बर सरसमान राखेर देशका विभिन्न भागमा पठाउने गरेका छन्।

 

मातहतका बिओपीहरूबाट पनि मासिक १५/१५ हजार एसपी कर्माचार्यले बुझ्ने गरेको र डिएसपी संगम श्रेष्ठले पनि ५ /५ हजारको दरले बिओपीका इन्चार्जहरूबाट मासिक रकम बुझ्ने गरेको प्रहरी स्रोतले नै नाम नभन्ने सर्तमा हामीलाई जानकारी दिएको छ।

गणमा भएको अधिक जनशक्ति बिदा छोडेर राशनमा आर्थिक अनियमिता गरेको आरोप सशस्त्र प्रहरीका एसपी कर्मचार्यमाथि लागेको छ। पर्साको १३ नम्बर गणका गणपतीले ७० प्रतिशत कर्मचारी बिदा आउट छोडेर उनीहरूको रासनको पैसा पनि आफ्नो पकेटमा हाल्ने गरेको गण स्रोतको दाबी छ। त्यसरी बिदा छोडे पनि पर्सास्थित गणका एसपीमाथी छानबिन भएको छैन।

यस विषय सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किशन कर्मचार्यासँग बुझ्दा उनले तस्करीमा संलग्न जो कोहीलाई कारबाही हुने बताएका छन्। उनले प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको भए त्यस्तो प्रमाण दिन आग्रह गर्दै प्रमाण प्राप्त हुनासाथ कारबाही गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर