प्रहरीमा अनौठो कार्यः कारबाहीमा तानिएकालाई मुख्यालयबाटै घुमुवाका रुपमा परिचालन



काठमाडौं । प्रहरी महानिरीक्षक मातहत रहेको उजुरी छानबिन महाशाखाका अधिकारीहरुले कारबाहीका लागि गणमा तानिएका प्रहरीलाई मधेश प्रदेशका जिल्ला–जिल्लामा घुमुवाका रुपमा खटाएको खुलासा भएको छ । उजुरी छानबिन महाशाखाका एसएसपी गणेश चन्दले आईजीपी बसन्तबहादुर कुँवरलाई थाहा नदिई कारबाहीका लागि तानिएकालाई मधेश प्रदेशमा खटाएको आरोप छ ।

मधेश प्रदेश अन्तर्गतका जिल्लामा सादा पोशाकमा खटिने क्रममा भन्सारछली गर्ने ब्यापारीहरुसँग मिलेमतो गरेको र प्रहरी आचरण विपरीत क्रियाकलाप गरी कारबाहीका लागि गण नम्बर १ टंगालमा तानिएका विवादित प्रहरीलाई नै उजुरी छानबिन महाशाखाका हाकिमहरुले बारा, पर्सा र रौतहटमा घुमुवाका रुपमा खटाएका छन् ।

आईजीपी  कुँवरलाई थाहा नै नदिई एसएसपी चन्दले प्रहरी प्रहरी नायब निरीक्षक(सई) उपेन्द्र साह, प्रहरी सहायक निरीक्षक (असई) महम्मद हुसेन, हवल्दार रामविश्वास यादवसहित ६ जनालाई मधेश प्रदेशका जिल्लामा खटाएका छन् । सई साह गतबर्ष असोजमा सिरहामा भएको तस्करीको घटनामा संलग्न भएकाले गणमा छानबिनका लागि तानिएका थिए । गएको असोजमा सिरहामा राजस्व अनुसन्धान कार्यालय इटहरीले ठूलो परिमाणमा तस्करीका कपडा बरामद गरेको थियो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा तस्करी भएको पाइएपछि सशस्त्रका एसपी प्रमोद भारतीसहितका अधिकृत तानिएका थिए । नेपाल प्रहरीले सई साहको तस्करसँग कनेक्सन देखिएपछि गणमा तानेर छानबिन गरिरहेको थियो । असई हुसेन र रामविश्वास यादव बारा र पर्सामा सादा पोशाकमा घुमुवाका रुपमा खटिएकै समयमा तानिएका थिए ।

कारबाहीका लागि तानिएका साह, हुसेन र यादवहरुलाई उजुरी छानबिनका प्रमुख चन्दले नै प्रहरी प्रधान कार्यालयबाट मधेशका जिल्लामा जाने अनुगमनमा जाने छुट दिएको स्रोत बताउँछ ।  उजुरी छानबिनका प्रमुख चन्दसहिता केही हाकिमहरुलाई प्रभावमा पारी सई साहसहितको टोली प्रत्येक महिना मधेश प्रदेशमा जाने गरेको थियो । उनीहरुले तराईका जिल्लाका थानाौकीका इन्चार्जहरुलाई प्रहरी प्रधान कार्यालयबाट आएको नभनी अख्तियारबाट खटिएको भन्ने गरेका थिए ।

अख्तियारबाट आएको भनी सीमाचौकीका इन्चार्जहरुलाई तेल, पैसा, खाजा खाना खुवाउन लगाउने र नदिनेलाई फसाउने कार्य समेत गर्न थाले । उनीहरुले मागे अनुसार पैसा नदिएपछि सीमा प्रहरी चौकीका इन्चार्जहरुलाई फसाउँदैआएका छन् । फसाइएका सीमा चौकीका इन्चार्जहरुमा बारा, पर्सा र रौतहटका छन् । विगतमा मधेशमा घुमुवा बसेर बदनाम भएकाहरुले मागे अनुसार रकम नदिएकै कारण रौतहटको कोपवा चौकीका सईलाई १ नम्बर गण नक्सालमा तनिएको छ । रौतहटकै मौलापुर इलाका प्रहरी कार्यायका इन्स्पेक्टर पनि उनीहरुकै माग पूरा नगर्दा तानिएका छन् ।

उजुरी छानबिनका गणेश चन्दसँग सेटिङ मिलाएर गएको उपेन्द्र साहको टोलीले रौतहटमा कोपवा र मौलापुरमा गएर अख्तियारबाट अएको भनेर थर्काउने र असुल्ने गरेपछि  २०८१ असार १६ गते स्थानीयको घेराउमा परेका थिए । अख्तियारको नाम लिएपछि विवाद बढ्दै गयो, विवाद बढेको खबर पुगेपछि जिल्ला प्रशासन कार्यालय रौतहटबाट थप मद्दत गएर उनीहरुलाई उद्दार गर्नुपरेको थियो । साभार : नेपाल फेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज