
वीरगंज । सीमा सुरक्षा र राजस्व छली नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलकै संरक्षणमा तस्करी मौलाएको छ।
जिल्लाको पश्चिमी ग्रामीण भेगको सबैठवा नाकाबाट सशस्त्र प्रहरीकै संरक्षणमा अवैध ओसारपसार मौलाएको स्थानीयको आरोप छ।
सशस्त्र प्रहरी बल गुल्म लहावथकरीका डिएसपी महेश खरेलकै लाइनमा अवैध ओसारपसार, तस्करी, र राजस्व छलीमा वृद्धि भएको सर्वसाधारणको आरोप छ। संगठनले दिएको जिम्मेवारीलाई भुलेर खरेलले तस्करी गर्नेहरूसँग सेटिङ मिलाएको आरोप छ। भारतीय प्रसिद्ध बजार सिक्टासँग जोडिएको सबैठवा नाकाबाट पर्साका चर्चित तस्कर, कालिकामाई–२ भेडिहारी निवासी बैला भनिने सत्रोहन साह रौनियारको समूहले लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक सामान, चकलेट, र पावडर दूधको धुवाँधार तस्करी गरिरहेका छन।
स्थानीय स्रोतका अनुसार बैलाले पोखरिया बजारमा मागअनुसार सम्पूर्ण तस्करीका सामानहरू उपलब्ध गराउँदै आएका छन्।
नामुद तस्कर बैलाले विगत लामो समयदेखि प्रहरीलाई मोटो रकम नजराना दिँदै तस्करी गर्दै आएका छन्। यही तस्करीबाट पर्साको वीरगंजसहित विभिन्न स्थानमा घरजग्गा जोड्न सफल भएका छन्।
तर यसमा सशस्त्र प्रहरी गुल्म लहावथकरीका डिएसपी महेश खरेलले पूर्ण रूपमा तस्करी बन्द रहेको प्रतिक्रिया दिएका छन्।