
वीरगंज । मधेस प्रदेशको पर्सा जिल्लास्थित सीमावर्ती क्षेत्रमा भन्सारछली र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी प्रमुख डिआइजी कालिदास धौवजी सक्रिय रुपमा लाग्नुभएको छ। तस्करीमा संलग्न रहेका सशस्त्र प्रहरी अधिकृतहरू विरुद्ध प्रमाणसहितको गुनासो आएपछि डिआइजी धौवजीले छानबिन प्रक्रिया अघि बढाएका हुन्।
स्रोतका अनुसार, प्रसौनीभाठा र आसवारी नाकाबाट भइरहेको तस्करीमा सशस्त्र प्रहरी निरीक्षक सन्जीप बानियाँ र सहायक निरीक्षक सोबिलाल थारुको संलग्नता रहेको पुष्टी भएपछि उनीहरूलाई छानबिनका लागि महोत्तरीको बर्दिवासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ। तर, इन्स्पेक्टर बानियाँले विभिन्न शक्ति केन्द्रहरूबाट दबाब गराएर कारबाहीबाट जोगिने प्रयास गरिरहेको दाबी गरिएको छ।
स्रोतले जानकारी दिएअनुसार, बिहीबार नै बाहिनी कार्यालयमा हाजिर हुने सूचना दिए पनि इन्स्पेक्टर बानियाँ अझै बिओपीमै रहेका छन् र कारबाही प्रक्रिया रोक्न मौखिक रूपमा अर्को सूचना आउने सम्म पर्खन भनिएको छ। दबाबका बीच उनले सीमाको निरीक्षणको नाममा पूर्वदेखि पश्चिमसम्म LRP भ्रमण गरिरहेको पनि बताइएको छ।
तस्करी नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरीले निगरानी थप कडा बनाएको छ। राजस्व असुली प्रभावित हुने गरी भइरहेको भन्सारछली नियन्त्रणमा ल्याउन डिआइजी धौवजीले ‘शून्य सहनशीलता’को नीति अपनाएको बताइएको छ।
स्थानीय सूत्रले जनाए अनुसार, वीरगंजको इनर्वागाउँ निवासी राजकुमार यादव, जितपुरका प्रदीप साह कलवार र तिलावेबर्वाका भुवन यादवको समूहलाई कपडाको तस्करी गर्न इन्स्पेक्टर बानियाँले सहयोग गर्दै आएका थिए। त्यस्तै, विवेक र उत्तम तिवारीको समूह मकै तथा यूनिलिभर कम्पनीद्वारा उत्पादित कसमेटिक सामान तस्करीमा संलग्न रहेको उल्लेख छ।
यस्तै, रामाशंकर साह र राजकुमारको अर्को समूह किराना सामान, चकलेट, पाउडर दूध, चिनी, हार्डवेयर सामग्री तथा काजु-किसमिस लगायतका वस्तुको तस्करीमा संलग्न रहेको पाइएको छ।
यी समूहहरूलाई सशस्त्र प्रहरी निरीक्षक बानियाँले ‘लाइन’ दिएर नाका पार गराइदिने, समय र मार्ग तय गरिदिने, निगरानी खुकुलो बनाउनेजस्ता सहयोग गरेको आरोप स्थानिय स्रोतले लगाएका छन्।
स्रोतहरूका अनुसार दर्जनभन्दा बढी तस्करीमा संलग्न गिरोहसँग इन्स्पेक्टरको मिलेमतो रहेको आरोप छ।
इन्स्पेक्टर बानियाँ यसअघि पनि विवादास्पद रहँदै आएका छन्। भिस्वा बन्जारी बिओपीमा इन्चार्ज रहँदा तस्करी संलग्नताका कारण कार्य अवधि समाप्त हुनु अघि नै तानिएको थियो।
डिआइजी धौवजीको सक्रियतापछि स्थानीय बासिन्दाले तस्करी नियन्त्रणमा सुधारको आशा व्यक्त गरेका छन्। अब दोषी ठहरिएकाहरूमाथि कडा कारबाही हुने अपेक्षा गरिएको छ।