जिराभवानी हत्या प्रकरणमा साहसिक भूमिका निभाएका असई बिकाउ साह ‘साउन महिनाको उत्कृष्ट प्रहरी’ घोषित



वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सहायक निरीक्षक (असई) बिकाउ साहलाई २०८२ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ।

इलाका प्रहरी कार्यालय एकटाँगामा दरबन्दी भई हाल अस्थायी प्रहरी पोष्ट शंकरसरैयामा खटिएका साहलाई साउन १७ गते जिराभवानी गाउँपालिका–५ शंकरसरैयामा घटेको हत्या प्रकरणमा देखाएको सक्रियता र साहसिक कार्यका आधारमा उत्कृष्ट प्रहरीको सम्मान गरिएको हो।

साहले मादक पदार्थ सेवनपछि आफ्नै श्रीमती असपतलीया देवी मुसहरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न जितेन्द्र माझी मुसहरलाई तत्काल घेराबन्दी गरी पक्राउ गरेका थिए। उनकाे तत्कालीन कदमले जनतामा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका खेलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उत्कृष्ट कार्यको कदर गर्दै प्रहरी उपरीक्षक गौतम मिश्रले साहलाई ‘साउन महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्दै बधाई दिएका छन्। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालसहित अन्य प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज