पर्सामा स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ



वीरगञ्ज, साउन १६ । पर्सा प्रहरीले स्रोत खुल्न नसकेको भारतीय रुपैयाँ र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा जगन्नाथपुर गाउँपालिका–२ स्थित गण्डक नहर सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ स्थायी घर भई हाल चितवनको माडी नगरपालिका–९, हनुमानझुलामा बसोबास गर्दै आएका ४२ वर्षीय दिपेश हिमडुङ र सोही स्थानका २६ वर्षीय तिलक हिमडुङ रहेका छन्।

प्रहरीका अनुसार ना.१० प ४४६९ नम्बरको मोटरसाइकल रोकेर खानतलासी गर्दा उनीहरूको साथबाट स्रोत पुष्टि हुन नसकेको भारतीय मुद्रा २ लाख ९ हजार ५०० रुपैयाँ बरामद गरिएको हो।

बरामद रकममध्ये भारतीय ५०० दरका ३१६ थान, २०० दरका ७५ थान तथा १०० दरका ३६५ थान नोट रहेका छन्।

बरामद भारतीय मुद्रा र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज