छिपहरमाईका सरकारी विद्यालयमा बेथिति : शिक्षक ढिलो आउने, कार्यालयमै गफ र मोबाइलमा व्यस्त; शिक्षा शाखा मौन

धर्मेन्द्र प्रसाद यादव
२०८३ आश्विन १२, सोमबार १६:०२ बजे

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा शिक्षकको समयपालन र नियमित उपस्थितिमाथि प्रश्न उठेको छ। विद्यालय सञ्चालनको निर्धारित समय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म भए पनि केही शिक्षक समयमा विद्यालय नपुग्ने गरेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार केही शिक्षक बिनाजानकारी विद्यालयमा अनुपस्थित हुने तथा विद्यालय पुगेपछि अघिल्ला दिनको समेत हाजिरी गर्ने गरेको आरोप छ। कतिपय विद्यालयमा कार्यालय समयमा शिक्षकहरू समूह बनाएर गफ गरेर बस्ने र मोबाइल चलाएर समय बिताउने गरेको समेत गुनासो गरिएको छ।

विद्यालयको नियमित कक्षा सञ्चालन बिहान १० बजेदेखि हुनुपर्ने भए पनि केही शिक्षक ११ बजेसम्म विद्यालय पुग्ने गरेको स्थानीयको दाबी छ। शिक्षकको अनियमित उपस्थितिका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको उनीहरूको भनाइ छ।

यसै क्रममा छिपहरमाई गाउँपालिका–१ स्थित श्री महादेव माध्यमिक विद्यालय, मिर्जापुरका केही शिक्षक बिहान १०ः३५ बजेसम्म विद्यालयतर्फ जाँदै गरेको अवस्थामा देखिएको बताइएको छ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक प्रभु गिरीसँग बुझ्दा शिक्षक ढिलो हुनुको कारण ‘सुजी किन्न ढिलो भएको’ जवाफ दिएको बताइएको छ।

विद्यालयमा शिक्षक नियमित रूपमा ढिलो आउने गरेको विषयमा गाउँपालिकाको शिक्षा शाखालाई समेत जानकारी गराइएको थियो। शिक्षा शाखा प्रमुख विशाल साह कानुलाई यसबारे जानकारी गराउँदा अनुगमन गरी आवश्यक कदम चाल्नुपर्नेमा गुनासोकर्तालाई नै ‘गएर हेर्नु’ भन्ने आशयको जवाफ दिएको गुनासो गरिएको छ।

शिक्षक समयमै विद्यालय नपुग्नु उनीहरूको व्यक्तिगत जिम्मेवारीको विषय भए पनि विद्यालय प्रशासन र स्थानीय तहको शिक्षा शाखाको अनुगमन तथा निगरानी प्रणाली प्रभावकारी छ कि छैन भन्ने प्रश्नसमेत उठेको छ।

सामुदायिक विद्यालयमा शिक्षकको नियमित उपस्थिति, समयपालन, हाजिरी व्यवस्थापन र प्रभावकारी कक्षा सञ्चालन सुनिश्चित गर्नु विद्यालय प्रशासन तथा सम्बन्धित स्थानीय तहको जिम्मेवारी हो। तर, नियमित अनुगमन कमजोर हुँदा शिक्षकको उपस्थितिसम्बन्धी समस्या दोहोरिएको स्थानीयको आरोप छ।

स्थानीयले विद्यालयमा शिक्षकको उपस्थिति र हाजिरी अभिलेखको नियमित अनुगमन गर्न तथा निर्धारित समयअनुसार कक्षा सञ्चालन भए–नभएको यकिन गर्न गाउँपालिकासँग माग गरेका छन्।

शिक्षकको अनुपस्थितिका कारण विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत स्थानीयले उठाएका छन्।

छिपहरमाई गाउँपालिकाले आफ्नो मातहतका सामुदायिक विद्यालयमा शिक्षकको दैनिक उपस्थिति, हाजिरी अभिलेख र कक्षा सञ्चालनको अवस्थाबारे प्रभावकारी अनुगमन गरी आवश्यक सुधारका कदम चाल्नुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

धर्मेन्द्र प्रसाद यादव

धर्मेन्द्र प्रसाद यादव

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्