बारा पूर्वाधार कार्यालयमा ‘सरुवा खेल’ : स्थापनाको तीन वर्ष नपुग्दै फेरिए १० कार्यालय प्रमुख

न्यूज डेस्क
२०८३ आश्विन १३, मंगलवार ०१:४६ बजे

जनकपुरधाम : निजामती वा प्राविधिक कर्मचारीले एउटै कार्यालयमा बर्षाै अड्डा जमाएर बस्ने प्रवृत्ति नौलो होइन। तर, मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, बारा कलैया स्थापनाको तीन वर्ष नपुग्दै १० कार्यालय प्रमुख फेरबदल भएको सुन्दा भने अचम्म लाग्न सक्छ।

कार्यालय सञ्चालनको ३ वर्ष नबित्दै ९ कर्मचारीको सरुवा र १० औं कार्यालय प्रमुख परिवर्तनपछि मधेश सरकारको नियतमाथि नै प्रश्न उठन थालेको छ। पछिल्लोपटक मन्त्रालयमै निमित्त प्रदेश सचिवका रूपमा कार्यरत सञ्जयप्रसाद साहलाई बारामा पठाउने निर्णय गरिएको छ। प्रदेश सरकारको भदौ २५ गतेको निर्णयअनुसार साहलाई उक्त कार्यालयको जिम्मेवारीमा खटाइएको हो।

कलैयामा २०८० भदौ २० गते पूर्वाधार विकास कार्यालय स्थापना हुँदा राजेन्द्र साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो। उनले करिब एक वर्ष ३ महिना १५ दिन काम गरेपछि सरुवा भए। त्यसपछि ०८१ फागुन ४ गते ओमकुमार साह कार्यालय प्रमुखका रूपमा हाजिर भए। तर, उनी कार्यालयमा आएको १५ दिन नबित्दै सरुवा गरिएपछि मन्त्रालयले फागुन २१ गते पुनः राजेन्द्र साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो।

राजेन्द्र साहले जिम्मेवारी सम्हालेको दुई महिना नबित्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्का प्रक्रियामा १ करोड ८४ लाख ३८ हजार ४ सय ५८ रुपैयाँ अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख साहसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो। त्यसपछि साह निलम्बनमा परे।

त्यसपछि २०८२ जेठ ४ गते रिम्पुकुमारी यादवलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइयो। तर, उनले पनि करिब चार महिनामात्रै काम गर्न पाइन्। मन्त्रालयले २०८२ असोज ९ गते सञ्जयकुमार यादवलाई निमित्त कार्यालय प्रमुखका रूपमा खटायो। सञ्जयकुमार यादव पनि २१ दिनमै सरुवा भएपछि मन्त्रालयले २०८२ कात्तिक २ गते पुनः ओमकुमार साहलाई कार्यालय प्रमुखको जिम्मेवारीसहित पठायो। साहले करिब ६ महिना अर्थात् २०८२ चैत १० गतेसम्म जिम्मेवारी सम्हाले। २०८२ चैत ३० गते ओम साहको जिम्मेवारी खोसेर विशेष अदालतबाट सफाइ पाएपछि राजेन्द्र साहलाई पुनः निमित्त कार्यालय प्रमुखको रूपमा जिम्मेवारी दिइयो। तर, उनले पनि २० दिनभन्दा बढी काम गर्न पाएनन्। संघीय सरकारले अन्तरप्रदेश सरुवा गरेपछि २०८३ वैशाख २२ गते हेमन्तलाई कार्यालयको जिम्मेवारी दिइयो।

हेमन्तले आफूले कार्यालयको जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई लिखित जानकारी गराएपछि मन्त्रालयले २०८३ जेठ २५ गते पुनः ओमकुमार साहलाई कार्यालय प्रमुखको जिम्मेवारीमा पठाएको थियो। आर्थिक वर्षको अन्तिम समयमा कार्यालयमा हाजिर भएका साहले विकास निर्माणसँग सम्बन्धित काम अघि बढाए पनि केही समयमै पुनः सरुवाको निर्णय भयो।

अहिले मन्त्रालयले उनलाई समेत हटाएर निमित्त प्रदेश सचिवका रूपमा कार्यरत सञ्जयप्रसाद साहलाई बाराको पूर्वाधार विकास कार्यालयमा पठाउने निर्णय गरेको हो। मन्त्री र मन्त्रालयको आफू अनुकूल हित सोचेर हुने सरुवाले सेटिङ लगातार हुने नेतृत्व परिवर्तनले कार्यालयको प्रशासनिक निरन्तरता, योजना कार्यान्वयन र विकास निर्माणको गुणस्तरमा प्रत्यक्ष असर पर्न सक्ने अवस्था देखिएको छ।

Purwadhar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्