नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

NEWS DESK
२०८३ आश्विन २७, मंगलवार ०६:४८ बजे

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज देशभरका दुर्गा मन्दिर, शक्तिपीठ तथा घरघरमा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ। शक्ति, साहस र शान्तिको प्रतीक मानिने चन्द्रघण्टा देवीको आराधना गर्न बिहानैदेखि भक्तजन धार्मिक स्थलमा पुग्ने गरेका छन्।

पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा समेत चन्द्रघण्टा देवीको स्वरूप र महिमाबारे उल्लेख गरिएको छ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका अवसरमा देवीको विशेष पूजा तथा साधना गर्ने परम्परा रहिआएको छ।

चन्द्रघण्टा देवीको स्वरूपलाई शान्त, करुणामयी र शक्तिशाली मानिन्छ। धार्मिक मान्यताअनुसार देवीको आराधनाले पाप नाश हुनुका साथै भक्तजनले शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त गर्छन्। नवरात्रको तेस्रो दिन मणिपुर चक्रमा ध्यान गर्ने परम्परा पनि रहेको छ। सङ्गीत तथा कला क्षेत्रमा लागेका व्यक्तिहरूले समेत यस दिन देवीको विशेष आराधना गर्ने धार्मिक विश्वास छ।

नौ दिन नौ दुर्गाको पूजा

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राख्ने परम्परा छ। यस वर्ष आइतबार घटस्थापना गरिएको थियो। पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदैछ।

दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत् तथा देवीका विभिन्न स्तोत्र पाठ गर्ने चलन छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गरी दसैँ पर्व मनाउने गर्छन्।

शक्तिपीठमा भक्तजनको भीड

नवरात्रका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। श्रद्धालुहरू विभिन्न शक्तिपीठमा पुगेर देवीको दर्शन तथा पूजाआराधना गर्ने परम्परा छ।

नौ दिनसम्म देवीको पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। यसरी नेपाली समाजमा बडादसैँलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको प्रमुख पर्वका रूपमा मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्