रौतहट । बैंक तथा ई–सेवाको कर्मचारी बनेर केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार २२ जनाबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर ५ को कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको थियो।
प्रहरीले उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
फोन र ह्वाट्सएपबाट सुरु हुन्थ्यो ठगी
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपितहरूले मोबाइलमा फोन गरेर सम्बन्धित व्यक्ति मोबाइल बैंकिङ प्रयोगकर्ता हो वा होइन भन्ने पहिचान गर्थे। त्यसपछि बैंक वा ई–सेवाको कर्मचारी भएको झूटो परिचय दिँदै केवाइसी अपडेट गर्नुपर्ने भन्दै फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेको खुलेको छ।
पीडितलाई विश्वासमा लिएपछि भिडियो कल गर्ने, मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र गुगल फारम भर्ने बहानामा बैंकिङ विवरण प्राप्त गर्ने गरेको प्रहरीको भनाइ छ।
यसरी प्राप्त विवरणको दुरुपयोग गरी पीडितको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच बनाइन्थ्यो। त्यसपछि खातामा रहेको रकम अन्य व्यक्तिका बैंक खातामा वा क्युआर कोडमार्फत स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
ठगीको रकम डलर र क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंका
प्रहरीका अनुसार ठगीबाट प्राप्त रकम अमेरिकी डलरमा रूपान्तरण गरी बाइनान्स एपमार्फत कारोबार गरिएको तथा क्रिप्टोकरेन्सीमा लगानीसमेत गरिएको हुन सक्ने आशंका छ।
यद्यपि रकमको वास्तविक प्रवाह, प्रयोग गरिएका बैंक खाताहरू र क्रिप्टोकरेन्सीसँगको सम्बन्धबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नगद, मोबाइल, सिमकार्ड र बैंकका चेक बरामद
प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरेको जनाएको छ।
त्यसैगरी, सात थान मोबाइल, ११ थान सिमकार्ड, बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको छ।
प्रहरीले रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा प्रयोग गरिने संवाद तथा मोबाइलको स्क्रिन शेयर गराउने तरिकाबारे लेखिएका डायरी र कापीसमेत फेला पारेको जनाएको छ।
बरामद सामग्रीमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक पनि रहेको प्रहरीले जनाएको छ।
मुख्य योजनाकारसहित अन्य व्यक्तिको खोजी
प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको आशंका गरिएको छ। ठगीको रकम कहाँ–कहाँ स्थानान्तरण गरियो, कुन बैंक खाता तथा डिजिटल माध्यम प्रयोग भए र घटनामा अरू कति व्यक्ति संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिएका छन्।
अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह
प्रहरीले बैंक वा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने भन्दै अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
अपरिचित व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन शेयर नगर्न, ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण उपलब्ध नगराउन र शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक माध्यमबाट पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ।
अनलाइन ठगीमा परेका अन्य व्यक्तिलाई समेत प्रहरी कार्यालयमा सम्पर्क गरी उजुरी दिन आग्रह गरिएको छ। पक्राउ परेका तीन जनामाथि अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत सञ्जाल र रकमको अन्तिम गन्तव्यबारे थप तथ्य खुल्न बाँकी छ।


तपाईको प्रतिक्रिया !