विराटनगर – २७ असोज। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनु पर्ने बताएका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् ।
उनले प्रदेशबीचकाे सहकार्यलाई दिगो बनाउन प्रदेश आफैँमा सक्षम हुनुपर्ने बताएका छन् । तर प्रदेशहरूलाई अधिकार र वित्तीय स्रोत नदिई सहकार्य सम्भव नहुने बताए।
‘साझा समस्याबाट संयुक्त योजना, संयुक्त योजनाबाट सहलगानी र सहलगानीबाट साझा समृद्धि हाम्रो मूल मन्त्र हुनुपर्छ,’ उनले भने ।
मधेश प्रदेशका केरा, आँप, लिची, अदुवा र बेसार जस्ता उच्च मूल्यका कृषि उपजको साझा ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन मधेश प्रदेश तयार रहेको यादवले बताए ।
पर्यटन प्रवर्धनका लागि ‘एक यात्रा अनेक प्रदेश’ को अवधारणामा काम गर्नुपर्ने बताए । उनले जनकपुरधाम, विवाहपञ्चमी, मिथिला कलासँगै कोशीको रामधुनी, वराहक्षेत्र र लुम्बिनीलाई जोड्ने गरी धार्मिक-सांस्कृतिक पर्यटन सर्किट बनाउनुपर्ने उनको प्रस्ताव छ ।
संघीयता कार्यान्वयनको एक दशक भइसक्दा पनि प्रहरी समायोजन, निजामती सेवा ऐन, शिक्षा ऐन र स्वास्थ्य सेवा ऐन जारी नहुँदा काम गर्न जटिलता भएको मुख्यमन्त्री यादवको गुनासो थियो ।
‘प्रहरी ऐन बने पनि आवश्यक कानुन, जनशक्ति र सम्पत्ति हस्तान्तरण नहुँदा खुला सीमा भएको मधेशमा तस्करी र सीमापार अपराध नियन्त्रणमा सोचेजस्तो काम गर्न सकिएको छैन,’उनले भने, ‘संघीय सरकारले तत्काल समायोजन प्रक्रिया टुङ्ग्याउनुपर्छ ।’
प्रदेश सरकारका कार्यालयमा सङ्घले सचिव पठाउने र एउटै कामका लागि संघ र प्रदेश दुवैतिर संरचना खडा गर्ने परिपाटीले स्वायत्तता कमजोर बनाएको भन्दै उनले संघीय सरकारलाई नयाँ कार्यालय खडा नगर्न र अवस्थित कार्यालयहरू प्रदेशमा हस्तान्तरण गर्न आग्रह गरे ।


तपाईको प्रतिक्रिया !