वीरगञ्ज । नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले भारतको महावाणिज्यदूतावास, वीरगञ्जका कन्सुल मनीष दाससँग शिष्टाचार भेटघाट गरेको छ। भेटका क्रममा महासंघको तेस्रो महाधिवेशनका अवसरमा प्रकाशित स्मारिका कन्सुल दासलाई हस्तान्तरण गरिएको हो।
महासंघका केन्द्रीय अध्यक्ष हरि रेग्मी र केन्द्रीय सदस्य राहुल गुप्ताले कन्सुल दाससँग भेट गरी फोटो पत्रकारिताको वर्तमान अवस्था, विकास तथा प्रवर्द्धनका विषयमा छलफल गरेका थिए।
भेटघाटका क्रममा कन्सुल दासले फोटो पत्रकारहरूको पेसागत अवस्था, उनीहरूले कार्यक्षेत्रमा भोग्दै आएका चुनौती, हकहितको संरक्षण तथा फोटो पत्रकारिताको विकासका विषयमा चासो व्यक्त गरेका थिए। छलफलमा फोटो पत्रकारिताको संस्थागत विकास, पेसागत क्षमता अभिवृद्धि र चुनौती समाधानका लागि सम्बन्धित निकायबीच सहकार्य तथा समन्वय आवश्यक रहेको विषयमा विचार आदानप्रदान भएको थियो।
त्यसैगरी, फोटो पत्रकारहरूको पेसागत मर्यादा, अधिकार र सुरक्षाको सुनिश्चितता, क्षमता अभिवृद्धि तथा फोटो पत्रकारितालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। यस्तो भेटघाटले संस्थागत सम्बन्ध विस्तार गर्नुका साथै आपसी समझदारी बढाउन र आगामी दिनमा सहकार्यका सम्भावना बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, महासंघका केन्द्रीय अध्यक्ष हरि रेग्मीले भेटघाटलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै केन्द्रीय सदस्य राहुल गुप्ताप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्। गुप्ताको सक्रियता, सहयोग र समर्पणले संस्थागत सम्बन्ध विस्तार तथा सुदृढीकरणमा योगदान पुर्याएको अध्यक्ष रेग्मीले उल्लेख गरेका छन्।
नेपाल फोटो पत्रकार महासंघले फोटो पत्रकारहरूको पेसागत हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा फोटो पत्रकारिताको विकास र प्रवर्द्धनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्दै आएको छ।


तपाईको प्रतिक्रिया !