भारतको बिहारमा डुङ्गा दुर्घटना स् १३ बालबालिकाको मृत्यु, मृतकका परिवारलाई ६ लाख भारु राहत

NEWS DESK
२०८३ आश्विन २८, बुधबार १०:०८ बजे

भारत । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ। दुर्घटनामा ज्यान गुमाउने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका रहेको जिल्ला प्रशासनले जनाएको छ।

जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मङ्गलबार साँझ करिब ८ः३० बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब १५ देखि २० जना बालबालिका सवार डुङ्गा पल्टिएको थियो।

दुर्घटनापछि उद्धार गरिएका सात जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ। उनीहरूको अवस्था स्थिर रहेको जिल्ला मजिस्ट्रेट सिंहले जानकारी दिनुभएको छ।

घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को टोली परिचालन गरिएको थियो। स्थानीय गोताखोरको सहयोगमा उद्धार तथा बेपत्ता भएकाको खोजी कार्यसमेत सञ्चालन गरिएको थियो। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा बालबालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँले प्रभावित परिवारलाई स्थानीय प्रशासनले आवश्यक सहयोग गरिरहेको पनि उल्लेख गर्नुभएको छ।

त्यसैगरी, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

प्रधानमन्त्री र मुख्यमन्त्रीले घोषणा गरेको राहतअनुसार मृतकका प्रत्येक परिवारले कुल छ लाख भारतीय रुपैयाँ आर्थिक सहायता पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्