काठमाडौँ, २९ असोज। नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा आराधना गर्ने धार्मिक परम्परा छ। स्कन्दमाता भगवान् स्कन्दकी माता पार्वतीको स्वरूपका रूपमा पूजित हुनुहुन्छ। धार्मिक मान्यताअनुसार स्कन्दमाताको पूजा गर्नाले शक्ति, ऐश्वर्य, विद्या तथा पारिवारिक सुखशान्ति प्राप्त हुने विश्वास गरिन्छ।
पौराणिक ग्रन्थमा स्कन्दमातासम्बन्धी विभिन्न कथा उल्लेख छन्। छान्दोग्य श्रुतिअनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो। स्कन्दकी माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ। स्कन्दमाताको प्रतिमामा सिंहासनमा विराजमान भई दुवै हातमा कमलपुष्प धारण गरेको स्वरूप देखाइन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जौको जमरा राख्ने गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ। त्यसैगरी छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ। राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा रहेका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनले पूजा, आराधना र दर्शन गरिरहेका छन्। शक्तिपीठमा गई देवीको पूजा आराधना गरेमा मनोकाङ्क्षा पूरा हुनुका साथै पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।


तपाईको प्रतिक्रिया !