डा. गोविन्द केसीको चेतावनी : माग पूरा नभए सत्याग्रहसहितका आन्दोलन पुनः सुरु गर्ने

?????????????????????????????????????????????????????????
NEWS DESK
२०८३ आश्विन २९, बिहीबार १०:२४ बजे

काठमाडौँ । वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अघि सारेका तीनबुँदे माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन्। आफ्ना मागप्रति सरकार गम्भीर नभए स्थगित सत्याग्रहलगायत सशक्त आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने चेतावनीसमेत उनले दिएका छन्।

बडादसैँका अवसरमा देशवासीलाई शुभकामना दिँदै विज्ञप्ति जारी गरेका डा. केसीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न तथा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेका हुन्।

उनले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका वर्तमान पदाधिकारीमाथि स्वार्थप्रेरित तथा गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। चिकित्सा शिक्षा ऐनको मर्मविपरीत निजी मेडिकल कलेजमा सिट वृद्धि गरिएको, आवश्यक पूर्वाधार तयार नभई गेटामा शैक्षिक कार्यक्रम सञ्चालन गर्न खोजिएको तथा पदीय दुरुपयोग गरी नातेदार र अनुकूलका व्यक्तिलाई जिम्मेवारी दिइएको उनको दाबी छ। उनले यस्ता निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।

त्यसैगरी, नेपाली सेनाद्वारा सञ्चालित मेडिकल कलेजले अन्य सार्वजनिक तथा सरकारी शिक्षण संस्थासरह ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिसम्बन्धी कानुनी प्रावधान पूर्ण रूपमा पालना गर्नुपर्ने उनले बताएका छन्। उक्त संस्थाको कानुनी दायरा र जवाफदेहिता स्पष्ट गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

डा. केसीले गत साउन ११ गते सरकारसँग भएका सम्झौता तथा सहमति अविलम्ब कार्यान्वयन गर्न आग्रह गरेका छन्। सुदूरपश्चिमस्थित गेटा शिक्षण अस्पताललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ।

दसैँको शुभकामना सन्देशमा उनले हालैका बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन्। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको अवस्था सुधार गर्न तथा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन्।

जलवायु परिवर्तनबाट प्रभावित देशले न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने र पेरिस जलवायु सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने माग गर्दै डा. केसीले संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेका छन्।

चिकित्सा शिक्षा क्षेत्रमा सुधार, सरकारी सहमतिको कार्यान्वयन र स्वास्थ्य सेवाको प्रभावकारितालाई जोड दिँदै उनले सरकारलाई आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने उनको चेतावनी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्