प्रसूति सेवामा आमाको गोपनीयता र मर्यादा कायम गर्न नयाँ निर्देशिका

NEWS DESK
२०८३ आश्विन २९, बिहीबार १८:४५ बजे

काठमाडौं । स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको व्यक्तिगत गोपनीयता, मर्यादा र सहजतालाई सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको छ।

मन्त्रालयले जारी गरेको ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ ले प्रसूति सेवाका क्रममा पर्दा वा छेकबारको व्यवस्था गरी आमाको शारीरिक गोपनीयता कायम गर्नुपर्ने प्रावधानलाई प्राथमिकता दिएको हो।

यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ अनुसार सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार स्वास्थ्य संस्थाले प्रसूति सेवाका क्रममा आमाको व्यक्तिगत गोपनीयता र मर्यादाको सम्मान गर्नुपर्नेछ। एउटै कक्षमा एकभन्दा बढी सुत्केरी राखिएको अवस्थामा पनि प्रत्येक आमाको गोपनीयता सुनिश्चित हुने गरी पर्दा वा अन्य छेकबारको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

प्रसूति सेवाका क्रममा आमाले सुरक्षित, सहज र सम्मानजनक वातावरणमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् तथा आफ्नो शारीरिक गोपनीयता कायम रहेको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

निर्देशिकाले प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने विषयलाई समेत प्राथमिकता दिएको छ। त्यस्तै, जन्मिएपछि नवजात शिशुलाई आमासँगै राख्ने र सम्भव भएसम्म छिटो स्तनपान गराउने व्यवस्थामा जोड दिइएको छ।

यसैगरी, सुत्केरी आमा र नवजात शिशु स्वास्थ्य संस्थाबाट घर फर्किएपछि पनि आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ। त्यसका लागि स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति तोक्नुपर्नेछ, जसले घर फर्किएपछिको आवश्यक परामर्श र सहयोगमा सहजीकरण गर्नेछ।

नयाँ निर्देशिकाले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षासँगै प्रसूति सेवामा मानवीय व्यवहार, सम्मान र गोपनीयतालाई महत्त्व दिएको छ। स्वास्थ्य संस्थामा सेवा लिने आमाले अपमानित वा असहज महसुस गर्नुपर्ने अवस्था अन्त्य गर्दै गुणस्तरीय र मातृशिशुमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

निर्देशिकाको प्रभावकारी कार्यान्वयन हुन सके प्रसूति सेवाका क्रममा आमाको गोपनीयता र मर्यादा संरक्षण हुनुका साथै आमा तथा नवजात शिशुले सुरक्षित, सम्मानजनक र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्