काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। बेपत्ता व्यक्तिहरूको कानुनी अवस्था निर्धारण गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई विवरण सङ्कलन तथा प्रमाणीकरणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको ‘भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण एकिन गर्ने विशेष प्रक्रिया, २०८३’ अनुसार काम अघि बढाउने निर्णय गरेको हो।
विभिन्न काम तथा भ्रमणका सिलसिलामा रसुवा पुगेका जिल्लाका नागरिक बाढीपछि सम्पर्कविहीन भएका थिए। उनीहरूको आधिकारिक विवरण प्रमाणीकरण गरी कानुनी अवस्था निर्धारण गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार काम थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर बेपत्ता व्यक्तिका परिवारबाट निवेदन आह्वान गर्नेछन्। परिवारका सदस्यले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ।
परिवारका सदस्य उपलब्ध नभएको अवस्थामा स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी वडाध्यक्षमार्फत निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। वडा समितिले निवेदनमाथि जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्नेछ। उक्त समितिले बेपत्ता व्यक्तिको विवरण एकिन गर्ने निर्णय गर्नेछ।
स्थानीय तहले प्राप्त निवेदन तथा विवरणमाथि तीन दिनको दाबीविरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ। त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो।
नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश तथा विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाइएको हो।
सम्बन्धित वडा कार्यालयले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ गतेभित्र अनिवार्य रूपमा पालिकामा पेस गर्नुपर्नेछ। त्यसैगरी, स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ गतेभित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्ने व्यवस्था छ। तोकिएको समयभन्दा अगावै विवरण प्राप्त भएमा बाँकी प्रक्रिया पनि चाँडै अघि बढाइने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका ३७ जना अझै सम्पर्कविहीन छन्। घटनामा चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने बाढीका बेला बेपत्ता भएका अन्य चार जना पछि परिवारको सम्पर्कमा आएका थिए।
बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण प्रमाणीकरणपछि उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने प्रक्रिया अघि बढ्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


तपाईको प्रतिक्रिया !