चाडपर्व लक्षित खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

NEWS DESK
२०८३ आश्विन ३०, शुक्रबार ०६:०६ बजे

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेस्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।

विभागले बिहीबार सूचना जारी गर्दै विशेषगरी राजमार्गमा यात्रा गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री वितरण गर्न आग्रह गरेको हो।

विभागले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्न, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थलाई सुरक्षित तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ। साथै, भान्सा, खाना वितरण गर्ने स्थान र व्यवसाय परिसर सफा राख्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा सफा भाँडाकुँडा र स्वच्छ पानी प्रयोग गर्न पनि आग्रह गरेको छ।

विभागका अनुसार खाद्य व्यवसायीले गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी खाना राम्ररी पकाएर मात्र उपभोक्तालाई उपलब्ध गराउनुपर्नेछ। बासी, सडेगलेका, झिँगा भन्केका, धुलो तथा फोहर पानी मिसिएका वा अस्वच्छ अवस्थामा तयार गरिएका खाद्य पदार्थ बिक्री गर्न पाइने छैन।

त्यस्तै, खाद्य पदार्थ बिक्रीस्थलमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउन र उपभोक्तालाई उचित मूल्यमा खाद्य पदार्थ बिक्री गर्न विभागले निर्देशन दिएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधान पालना गर्न व्यवसायीलाई सचेत गराउँदै निर्देशन उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।

यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ।

चाडपर्वका समयमा खाद्य पदार्थको खपत र यात्रुहरूको आवतजावत बढ्ने भएकाले उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन व्यवसायीलाई जिम्मेवार बन्न विभागले ध्यानाकर्षण गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्