काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सस्तो दरका साना प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला टेलिकमले भने सहुलियत दरमा नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको हो।
नेपाल टेलिकमका अनुसार ‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाई ६ प्रविधिमा आधारित नयाँ प्याकेज उपलब्ध गराइनेछ। उक्त प्याकेजको वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
टेलिकमले इन्टरनेट र टेलिफोनसहितका वार्षिक प्याकेज पनि सार्वजनिक गरेको छ। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार १०० एमबीपीएस गतिको प्याकेजका लागि वार्षिक ११ हजार ४९९ रुपैयाँ र १५० एमबीपीएसको प्याकेजका लागि १२ हजार ९९९ रुपैयाँ शुल्क लाग्नेछ।
त्यस्तै, २०० एमबीपीएस गतिको इन्टरनेट सेवा वार्षिक १६ हजार ४९९ रुपैयाँमा उपलब्ध गराइने टेलिकमले जनाएको छ।
यी प्याकेजअन्तर्गत वार्षिक ग्राहकले दैनिक ८०० देखि १ हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क प्राप्त गर्नेछन्। नयाँ प्याकेज जडान गर्ने ग्राहकलाई ५ हजार रुपैयाँ जडान शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमका अनुसार नयाँ इन्टरनेट प्याकेज तथा अन्य अफर आजदेखि लागू भएका छन्। सहुलियत दरमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएका यी प्याकेजले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार सेवा छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !