प्रहरी निरीक्षक विशाल मल्ल ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ बाट सम्मानित

NEWS DESK
२०८३ आश्विन ३०, शुक्रबार २०:२० बजे

सिरहा । सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ल ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ का रूपमा सम्मानित भएका छन्।

लागूऔषध तस्करीको सञ्जाल पहिचान, जोखिमपूर्ण परिस्थितिमा साहसिक नेतृत्व र प्रभावकारी अनुसन्धानमार्फत महत्त्वपूर्ण सफलता हासिल गरेको भन्दै उनलाई सम्मान गरिएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी निरीक्षक मल्ललाई सम्मान गरेका हुन्।

सम्मानपत्रमा उल्लेख भएअनुसार, मल्लले लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन जोखिमपूर्ण परिस्थितिमा समेत साहसिक नेतृत्व प्रदर्शन गरेका थिए। हतियारसहितका लागूऔषध कारोबारीसँग दुई पटक दोहोरो झडप हुँदा पनि आफ्नो कमान्डमा रहेको प्रहरी टोलीलाई सुरक्षित राख्दै अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भएको उनको योगदानलाई सम्मानको आधार बनाइएको छ।

त्यस्तै, भारतबाट बालबालिकाको प्रयोग गरी नेपालमा लागूऔषध पठाउने संगठित सञ्जाल पहिचान गर्नु उनको अनुसन्धानको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। उक्त सञ्जालका मुख्य व्यक्तिसहित तीन जना भारतीय नागरिक पक्राउ पर्नुलाई लागूऔषध नियन्त्रण अभियानको उल्लेखनीय सफलता मानिएको छ।

यसैगरी, सामान्य दुर्घटनासम्बन्धी घटनाबाट प्राप्त मोबाइल फोनको विश्लेषण र सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा ठूलो लागूऔषध तस्करी सञ्जालसम्म पुग्न सफल भएको विषयलाई पनि उनको अनुसन्धान दक्षताको प्रमाणका रूपमा सम्मानपत्रमा समेटिएको छ।

प्रहरी निरीक्षक मल्लको साहसिक नेतृत्व, अनुसन्धान क्षमता र संगठित लागूऔषध कारोबार नियन्त्रणमा पुर्‍याएको योगदानको कदरस्वरूप प्रदान गरिएको सम्मानले लागूऔषधविरुद्धको प्रहरी अभियानमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्