सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार महोत्तरीबाट सर्लाहीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०६ बिएक्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर पल्टिँदा चालक महोत्तरीको गौशाला नगरपालिका–५, जिरोमाइलका २४ वर्षीय विकल साहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ का २२ वर्षीय शम्भुनाथ कुमार साह र २३ वर्षीय शुभमकुमार शर्मा घाइते भएका छन्। घाइते दुवैको अवस्था सामान्य रहेको र महोत्तरीस्थित एक स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।
मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। यद्यपि, सङ्ग्रामपुर क्षेत्रको हुलाकी राजमार्गमा अत्यधिक खाल्टाखुल्टी रहेकाले तीव्र गतिमा रहेको कार खाल्टोमा परेर अनियन्त्रित भएको हुन सक्ने आशङ्का गरिएको छ।
दुर्घटनापछि कार सडकमा उत्तानो परेको थियो। सुरक्षाकर्मीले दुर्घटनाग्रस्त कारलाई सडकबाट हटाएका छन्।


तपाईको प्रतिक्रिया !