सप्तरीमा हात्ती मारेर धानखेतमा गाडेको अवस्थामा फेला, एक जना पक्राउ

NEWS DESK
२०८३ आश्विन ३०, शुक्रबार २०:२५ बजे

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धानखेतमा हात्तीलाई मारेर खाल्डोमा गाडेको अवस्थामा फेला पारिएको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ।

कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धानखेतमा खाल्डो खनेर हात्तीलाई पुरिएको अवस्थामा फेला पारिएको हो। नियमित गस्तीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले हात्ती गाडिएको अवस्थामा फेला पारेको थियो।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपिएको अवस्थामा भेटिएको हो। गाडिएको हात्तीलाई बाहिर निकालेर पोस्टमार्टम भइरहेको उहाँले जानकारी दिनुभयो।

हात्तीलाई दुईदेखि तीन दिनअघि नै मारेर गाडिएको हुन सक्ने आशङ्का गरिएको प्रमुख ठाकुरले बताउनुभयो। यद्यपि, हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन।

मृत हात्तीको पोस्टमार्टम कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ।

पोस्टमार्टम प्रक्रिया पूरा भएपछि मृत हात्तीलाई पुनः खाल्डोमा गाडिने जनाइएको छ। हात्तीको मृत्यु कसरी भयो र घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषय अनुसन्धानपछि खुल्ने कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्