लंगडीमा भेडा जुधाई प्रतियोगिता सम्पन्न, नेपाल–भारतका ३० भन्दा बढी भेडा सहभागी

न्यूज डेस्क
२०८३ कार्तिक ४, मंगलवार २१:५० बजे

वीरगन्ज, ३ कार्तिक। विजयादशमीको अवसरमा पर्साको धोबिनी गाउँपालिका–४, लंगडीमा आयोजित परम्परागत भेडा जुधाई प्रतियोगिता सम्पन्न भएको छ। छिपहरमाई मन्दिरमा लागेको दशमी मेलाका अवसरमा आयोजित प्रतियोगितामा नेपाल र भारतका ३० भन्दा बढी भेडा सहभागी भएका थिए।

लंगडीस्थित छिपहरमाई मन्दिर नजिकै आयोजना गरिएको प्रतियोगिताले दशमी मेलाको आकर्षण बढाउनुका साथै स्थानीय धार्मिक, सांस्कृतिक तथा परम्परागत पहिचानलाई उजागर गरेको छ। प्रतियोगिताको उद्घाटन मेला समितिका अध्यक्ष धिरज पटेलले गरेका थिए।

प्रतियोगितामा नेपालका विश्रामपुर, मिर्जापुर, झलमहिया र टिहुकीलगायत स्थानबाट भेडा ल्याइएको थियो। त्यसैगरी, भारतको धनकुटवा, पचामवा, छरदवाली, बेतिया, मझवलिया, इनर्वा र शिवाघाटलगायत क्षेत्रबाट समेत भेडा सहभागी गराइएको आयोजकले जनाएको छ।

नेपाल र भारतका भेडा मालिकहरूको उल्लेख्य सहभागिताले प्रतियोगितालाई थप रोचक बनाएको थियो। प्रतियोगितामा विजयी भेडाका मालिकलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।

परम्परागत भेडा जुधाई प्रतियोगिता अवलोकन गर्न नेपाल र भारतका हजारौँ दर्शक लंगडी पुगेका थिए। दर्शकको उल्लेख्य उपस्थितिले दशमी मेलामा थप चहलपहल बढाएको थियो।

कार्यक्रममा धोबिनी गाउँपालिकाका पूर्वअध्यक्ष सुरेश पटेल, युवा नेता सन्तोष पटेल, मजिद मियाँ, पत्रकार लालबाबु बानियाँ, निरञ्जन पटेल, श्यामबाबु रौनियार, कमरुल मियाँ, शिव पटेल, बलिराम पटेल, रञ्जय पटेल, राहुल यादव, सुरज कुमार, विपिन पटेल, राजु साहलगायत स्थानीय अगुवा तथा नेपाल प्रहरीको उपस्थिति रहेको थियो।

विजयादशमीका अवसरमा आयोजना हुँदै आएको यस्तो प्रतियोगिताले लंगडी क्षेत्रको सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै नेपाल र भारतका स्थानीय समुदायबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको छ। दशमी मेलासँग जोडिएको यस परम्पराले स्थानीय उत्सवमा छुट्टै रौनक थपेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्