दसैँले विविधतायुक्त समाजलाई एकताको सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

NEWS DESK
२०८३ कार्तिक ५, बुधबार ०९:०१ बजे

काठमाडौँ, ४ कात्तिक। प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने बताउनुभएको छ।

विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले दसैँले लामो समयदेखि टाढिएका साथीभाइ तथा आफन्तजनसँग भेटघाट गरी आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो।

उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। प्रत्येक नागरिकले सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न इमानदार प्रयास, दृढ सङ्कल्प र सामूहिक मेहनत आवश्यक रहेको उहाँको भनाइ छ।

“परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ,” सन्देशमा भनिएको छ।

विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने पर्व हो। पौराणिक मान्यताअनुसार यस दिन दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको विश्वास गरिन्छ।

यस पर्वमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई थप बलियो बनाउने प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्न जाने परम्पराले आत्मीयता र सम्बन्धको महत्त्व दर्शाउने उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताउनुभएको छ। उहाँले सबैलाई आफ्नो क्षमता र परिस्थितिअनुसार दसैँ मनाउँदै आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्