लन्डन, ४ कात्तिक (रासस/एपी)। बेलायतको लन्डनस्थित सबैभन्दा पुरानो रेस्टुरेन्ट ‘रूल्स’ सञ्चालन भइरहेको ऐतिहासिक भवन संरक्षणका लागि युरोपकै ठूलो संरक्षण परोपकारी संस्थामध्ये एक नेसनल ट्रस्टलाई दान गरिएको छ। यस कदमले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको रेस्टुरेन्टको मौलिक संरचना, सजावट र ऐतिहासिक वातावरण भावी पुस्ताका लागि सुरक्षित हुने अपेक्षा गरिएको छ।
सन् १७९८ मा थोमस रूलले ओइस्टर बारका रूपमा स्थापना गरेको रूल्सले बेलायती इतिहासका अनेक उतारचढाव पार गरेको छ। फ्रान्सेली क्रान्तिपछिको युरोपेली उथलपुथलदेखि दोस्रो विश्वयुद्धको बमबारी र सडक विस्तारका लागि भवन भत्काउने योजनासम्म यसले आफ्नो अस्तित्व जोगाउँदै आएको छ।
परम्परागत बेलायती परिकारका लागि प्रसिद्ध रूल्समा चार्ल्स डिकेन्स, चार्ली च्याप्लिन, डेभिड बोवी र म्याडोनाजस्ता चर्चित व्यक्तित्वले भोजन गरेका थिए। राजा एडवर्ड सातौँ पनि आफ्ना प्रेमिकाहरूसँग भेटघाट गर्न यहाँ आउने गरेको इतिहास छ।
सेन्ट्रल लन्डनको कोभेन्ट गार्डेनस्थित ३४–३५ मेडन लेनमा रहेको चारतले भवनका पछिल्ला चार दशकदेखिका मालिक जेपी मेह्यूले भवन नेसनल ट्रस्टलाई दान गर्ने निर्णय गर्नुभएको हो। उहाँका अनुसार भवनका इँटा, गारो, ऐतिहासिक भित्री सजावट र विशिष्ट वातावरणको संरक्षण गर्न ट्रस्ट सक्षम हुनेछ।
नेसनल ट्रस्टले यस दानको मूल्य एक करोड १० लाख पाउन्ड अर्थात् करिब एक करोड ४० लाख अमेरिकी डलर रहेको जनाएको छ। ट्रस्टका अनुसार कुनै समय राजा–महाराजा, लेखक र राजनीतिज्ञहरूको भेटघाटको केन्द्र बनेको यस भवनको ऐतिहासिक महत्त्व विशेष छ।
भवनसँगै रेस्टुरेन्टको इतिहाससँग सम्बन्धित आगन्तुक पुस्तिका, पुराना मेनु, कार्टुन, तस्बिर, रङ्गीन सिसा र सङ्केतचिह्नलगायत सामग्री पनि दान गरिएको छ। रेस्टुरेन्ट भने पूर्ववत् सञ्चालनमा रहनेछ र त्यसबाट प्राप्त वार्षिक भाडा भवनको संरक्षणमा खर्च गरिनेछ।
नेसनल ट्रस्टले रूल्सलाई ऐतिहासिक भवन र त्यसको मूल प्रयोजन अर्थात् रेस्टुरेन्ट सञ्चालन दुवै कायम रहेको दुर्लभ ‘जीवित सम्पदा’ का रूपमा व्याख्या गरेको छ। ट्रस्टकी महानिर्देशक हिलारी म्याकग्राडीले यसलाई लन्डनको जीवित इतिहासको महत्त्वपूर्ण अंश बताउनुभएको छ।
रेस्टुरेन्टको ऐतिहासिक महत्त्व जोगाउन विगतमा पनि प्रयास भएका थिए। सन् १९७१ मा तत्कालीन स्थानीय प्रशासनले स्ट्र्यान्ड सडक विस्तारका लागि भवन भत्काउने योजना अघि सारेपछि कवि जोन बेटजेम्यानले यसको संरक्षणका लागि अपिल गर्नुभएको थियो। रेस्टुरेन्टमा उहाँकै नाममा एउटा विशेष कोठासमेत छ। लेखक ग्राहम ग्रीनको नाममा पनि अर्को कोठा रहेको छ। ग्रीनले आफ्नो उपन्यास ‘द एन्ड अफ द अफेयर’ मा रूल्सलाई समेट्नुभएको थियो।
हाल रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका रिकी म्याकमनेमी सन् १९८९ देखि त्यहाँ कार्यरत हुनुहुन्छ। भवन दान भएपछि उहाँ नेसनल ट्रस्टको व्यावसायिक भाडावालका रूपमा रेस्टुरेन्ट सञ्चालन जारी राख्नुहुनेछ।
म्याकमनेमीका अनुसार नयाँ व्यवस्थाले व्यवसायलाई सुरक्षा र दीर्घकालीन स्थायित्व प्रदान गरेको छ। उहाँले रेस्टुरेन्ट आगामी दुई शताब्दीसम्म पनि सञ्चालनमा रहने आशा व्यक्त गर्नुभएको छ।
रूल्समा स्टेक तथा किड्नी पाई, गिनी फाउल, स्टिकी टफी पुडिङ र स्याउको क्रम्बलजस्ता परम्परागत बेलायती परिकार पाइन्छन्। करिब ९० जनाले एकैपटक भोजन गर्न सक्ने यस रेस्टुरेन्टले पुरानो लन्डनको ऐतिहासिक वातावरणलाई आजसम्म जीवित राखेको छ।


तपाईको प्रतिक्रिया !