लाहोर (पाकिस्तान) । अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन्। उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप लागेको छ।
राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो। अमेरिकी अधिकारीहरूका अनुसार उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क डट कम’ नामक अनधिकृत वेबसाइट सञ्चालन गरेका थिए।
अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार उक्त वेबसाइटमार्फत पाँच हजार २०० भन्दा बढी ग्राहकलाई ५१ लाखभन्दा बढी नक्कली हुलाक लेबल बिक्री गरिएको थियो। ती नक्कली लेबलका कारण अमेरिकी हुलाक सेवाले राजस्व गुमाउनुका साथै सामान ढुवानीको खर्चसमेत बेहोर्नुपरेको थियो।
पाकिस्तानी अनुसन्धानकर्ताहरूका अनुसार अकरमले आफ्नो अनलाइन व्यवसाय सञ्चालन गर्न परिवारका सदस्यका नाममा रहेका १६ वटा बैंक खाता प्रयोग गरेका थिए। ती खातामा उनका भाइ, पत्नी, बहिनी र काकीका खातासमेत समावेश रहेको बताइएको छ।
पक्राउ परेका अकरमलाई अमेरिकामा सुपुर्दगी गरिने वा पाकिस्तानमै मुद्दा चलाइने भन्ने विषयमा भने स्पष्ट निर्णय भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


तपाईको प्रतिक्रिया !